आईपीएल २०२५: अन्तिम दुई ओभरमा चुक्दै राजस्थान रोयल्स ११ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बंगलोरले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ। २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम दुई ओभरमा जितका लागि १८ रन आवश्यक पाएको थियो। पाँच विकेट बाँकी हुँदा पनि टोली १९४ रनमै समेटियो।
राजस्थानका लागि उत्कृष्ट सुरुवात गरेका ओपनर यशस्वी जयसवालले १९ बलमा आक्रामक ४९ रन जोडे। त्यसैगरी ध्रुव जुरेलले ३४ बलमा ४७ रन बनाए। तर, १९ औँ ओभरमा बंगलोरका जोस हजेलउडले खेलको पासा पल्टाउँदै १ रनमात्र दिएका थिए र त्यही ओभरमा जुरेल र जोफ्रा आर्चरलाई पभेलियन फर्काए। त्यसपछि यश दयालले अन्तिम ओभरमा दुई विकेट लिँदै बंगलोरलाई रोमाञ्चक जित दिलाए।
बल्लिङमा जोस हजेलउड सर्वाधिक प्रभावशाली रहे। उनले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। क्रुनाल पाण्डेयले ४ ओभरमा ३१ रन दिँदै २ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो। कप्तान विराट कोहलीले ४२ बलमा ७० रन बनाउँदै इनिङ्सको आधार तयार पारे। देवीदत्त पाडिक्कलले २७ बलमा ५० रन तथा जितेस शर्माले १० बलमा अविजित २० रन बनाए। राजस्थानका सन्दीप शर्माले ४ ओभरमा ४५ रन खर्चेर दुई विकेट लिए।
यस जितसँगै बंगलोरले ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लगातार हार खेपिरहेको राजस्थान भने चार अंकमै सीमित रहँदै आठौँ स्थानमा झरेको छ।


