वीरगञ्जको आईसीपी भन्सारमा तस्करको रजगज, मूल नाकाबाटै तस्करीको खुलासा
परिमाण ढाँटेर भित्र्याउन लागिएको जीरा यसरी समातियो, ७० लाख जरीवाना

वीरगञ्जको आईसीपी भन्सारमा तस्करहरुले कतिसम्म रजगज चलाएका रहेछन् भन्ने कुराको एउटा गतिलो प्रमाण बाहिरिएको छ । भन्सार कर्मचारीहरुकै संरक्षणमा मौलाइको तस्करी धन्धाको बेलाबेलामा पोल खुल्ने गरेको छ ।
वीरगञ्जको एउटा विवादास्पद व्यापारिक फर्मले भन्सारबाट जाँचपास गराएको जीराको पुनः परीक्षण हुँदा घोषणाभन्दा बढी परिमाण फेला परेपछि आईसीपीबाटै हुने संस्थागत तस्करीको पर्दा खुलेको हो ।
आरएन इन्टरप्राइजेज नामको एउटा व्यापारिक फर्मले परिमाण छलेर लैजान लागेको जीरामा भन्सारले जरीवाना तिराएको छ । सो फर्मले भारतबाट भित्र्याएको जीराको गाडीमा घोषणा गरिएभन्दा ४ हजार २ सय किलो जीरा भेटिएको हो । सो फर्मले भरेका २ ओटा प्रज्ञापनमध्ये एउटाको घोषणामा यस्तो गडबडी फेला परेको हो ।
दुई ओटामध्ये एउटामा ३०० र अर्कोमा ५४० बोरा उल्लेख गरिएको थियो । दोस्रो प्रज्ञापनको परीक्षण गर्दा ७०० बोरा फेला परेको हो । ती आयातकर्ताले भने बील समावेश गर्न छुटेकाले परिमाण फरक परेको दाबी गरेका छन् ।
सो फर्मले घोषणा गरेरै ल्याएको भए १४० बोरा जीरामा ३ लाख १३ हजार ६१४ रुपैयाँ भन्सार राजस्व तिनुपर्ने थियो । तर, यो रकम छल्न खोज्दा उनलाई भन्सारले ७० लाख ३९ हजार ९१४ रुपैयाँ जरीवाना तिराएको छ । आरएन इन्टरप्राइजेजलाई परिमाण छलेर लैजान खोजेको जीरा समातेर आईसीपी भन्सारले शनिबार सो जरीवाना जरीवाना तिराएको छ ।
परिमाण ढाँटेर जाँचपास गरी बाहिरिन लागेको गाडीमा घोषणभन्दा बढी जीरा भएको आशंकामा भन्सारका जाँचकीले गेटबाट फर्काएर पुनः परीक्षण गराएका थिए । बैशाख ४ गते पुनः जाँच हुँदा जरीवाना तिर्नुपर्ने भएको हो ।
भन्सारको स्वाचालित प्रणालीबाट पहेलो लेनमा जाँचपास भएको सो गाडीमा घोषणाभन्दा बढी परिमाण भेटिएको हो । पहेलो लेनमा चुहावटको मध्यम जोखिमका बस्तुहरु पर्छन् । यसमा कागजपत्रको मात्र जाँच हुन्छ । भन्सार स्रोतका अनुसार यो गाडीको लफडा मिलाउन भन्सार अधिकारीहरुलाई ती व्यापारीले ठूलै रकम अफर गरेका थिए । तर, यो प्रकरणको चर्चा भन्सार विभाग हुँदै अर्थ मन्त्रालयसम्म पुगेपछि कर्मचारी हच्किएको दाबी गरिएको छ ।
सीमाक्षेत्रबाट हुने तस्करी नियन्त्रणमा लागि सरकारले सिमानामा सशस्त्र प्रहरी खटाएको छ । नेपाल प्रहरीले पनि यसमा निगरानीको जिम्मा पाएको छ । तर, भन्सारबाटै यसरी भइरहेको संस्थागत तस्करी कायमै रहेसम्म राजस्वमाथिको चोरीचकारी बन्द नहुने दाबी सरोकारका पक्षको छ ।
आईसीपी भन्सारमा यस्ता घपलाहरु बाक्लै हुने गरेको र वाह्य दबाबका कारण सेटिङमा जान नसकेपछि जरीवान तिराउने गरिएको भन्सारका एक उच्च अधिकारीले बताएका छन् । तर आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले यस्ता घटनामा निर्मम भएर कारवाही गरिरहेको बताए । पछिल्लो समयमा लेनको दुरुपयोग र परिमाण नै फरक पारेर सामान लैजाने प्रवृत्ति बढेपछि दैनिकजसो पुनः परीक्षणलाई तीव्र पारिएको उनको भनाइ छ । भन्सारले सेम्पलको रुपमा गाडी ल्याएर यस्तो परीक्षण गर्दै आएको छ ।



