No Image Headlineस्वास्थ्य/जिवनशैली

बिस्तारै खाना खानुका यस्ता छन् फाइदाहरू

धेरैजसो मानिसहरू भोजन गर्ने क्रममा आफू कसरी खाइरहेका छन् भन्ने कुरातिर खासै ध्यान दिँदैनन्। मोबाइल चलाउँदै, टेलिभिजन हेर्दै वा गफ गर्दै छिटोछिटो खाने प्रचलन अहिले सामान्य जस्तै बनिसकेको छ। तर वैज्ञानिकहरूले भने चेतावनी दिएका छन्— यस्तो बानीले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ।

ब्राजिलको युनिभर्सिटी अफ साओ पाउलोमा कार्यरत पोषणविद् लिभिया हासेगावाका अनुसार, खाना चपाउँदा त्यो ससाना टुक्रा हुन्छ जसले पाचन प्रक्रिया सहज बनाउँछ। उनी भन्छिन्, “मैले सधैंजसो आमाबुवाको ‘पेटमा दाँत हुँदैन’ भन्ने उपमा सम्झन्छु। यदि खाना राम्रोसँग नचपाइ पाचन प्रणालीमा पुग्यो भने त्यसको प्रभावकारिता घट्छ।”

चपाउँदा र्‍यालबाट निस्कने एन्जाइमहरूले पोषक तत्त्वको अवशोषणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले, राम्ररी चपाएर खाने बानीले शरीरलाई आवश्यक पोषण सजिलै मिल्न सक्छ।

छिटो खानाले पाचन प्रणाली र तौलमा असर

छिटोछिटो खाँदा धेरै हावा पनि शरीरभित्र जान्छ, जसले गर्दा पेट फुल्ने समस्या देखा पर्न सक्छ। साथै, पर्याप्त चपाइ नहँुदा पेटमा अधिक परिश्रम गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा पाचनमा गम्भीर असर पुर्‍याउँछ।

न्यूयोर्कस्थित कोर्नेल युनिभर्सिटीका पोषण विशेषज्ञ स्यान्डर केर्स्टनका अनुसार, “बिस्तारै खाँदा मस्तिष्कलाई ‘अघाएको’ सन्देश पठाउन पर्याप्त समय मिल्छ, जसले आवश्यकता भन्दा बढी खाने सम्भावना घटाउँछ।”

उनका अनुसार छिटो खाने बानीले मोटोपन, टाइप २ मधुमेह, कलेजोमा बोसो जम्ने समस्या, उच्च रक्तचाप, मुटुरोग र केही प्रकारका क्यान्सरको जोखिमसमेत बढाउँछ।

ध्यान दिएर खाने बानी अपनाउन विज्ञको सुझाव

खाना खाने क्रममा अन्य गतिविधि नगर्न विज्ञहरूको सुझाव छ। लिभिया हासेगावाले खाने क्रममा काँटा-चम्चा राखेर केही समय विश्राम गर्नुपर्ने बताउँछिन्। “एक गाँस खाएपछि काँटा-चम्चा प्लेटमा राख्नुस्, त्यसले चपाउने समय बढाउँछ र खानाको गति पनि कम हुन्छ,” उनी भन्छिन्।

खाना पूर्ण रूपमा नरम र गिलो बनाइसकेपछि मात्र निल्नुपर्छ भन्नेमा पनि उनी जोड दिन्छिन्। यसले राम्रो पाचन सुनिश्चित गर्ने र शरीरलाई सन्तुलित उर्जासहित पोषण दिने काम गर्छ।

बिस्तारै र ध्यान दिएर खाना खाने बानीले न केवल पाचनमा सुधार ल्याउँछ, बरु दीर्घकालीन रूपमा शरीरको तौल, रोगको जोखिम र समग्र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले, दैनिक जीवनमा केही स-साना परिवर्तन गरेर बिस्तारै खाने बानी अपनाउनु स्वास्थ्यको दृष्टिले लाभदायक हुने देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button