
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी राख्ने घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति भएको दुई घण्टा लामो भेटवार्ताबाट पनि सकारात्मक प्रगति नदेखिएको भन्दै आन्दोलन जारी राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष सुवेदीले जनाएअनुसार, प्रधानमन्त्रीसँग शिक्षकका मागबारे दृढता र शिष्टतापूर्वक कुराकानी भए पनि वातावरण सकारात्मक बन्न सकेन। उनले आफूहरू सानातिना माग पुरा गर्ने लेनदेनका लागि आन्दोलनमा नआएको प्रष्ट पारेका छन्।
“हामी विगतका सहमतिहरू कार्यान्वयन हुने र विद्यालय शिक्षा ऐन जारी गरिने सुनिश्चितताका लागि आन्दोलनरत छौं,” अध्यक्ष सुवेदीले भने। उनले आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग भएको कुराकानी सार्वजनिक गरिने पनि जानकारी दिएका छन्।
सुवेदीले आन्दोलन मर्यादित, संयमित र अनुशासित रूपमा सञ्चालन गर्न शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आह्वान गरेका छन्। उनका अनुसार, इतिहासमै शिक्षकले प्राप्त गरेका अधिकारहरू आन्दोलनकै जगमा आधारित छन् र हालको अवस्थालाई हेर्दा आन्दोलन बाहेक विकल्प नरहेको स्पष्ट छ।
शुक्रबार राति ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष सुवेदीसँगै महासंघका सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए। भेटमा महासंघले चालु आन्दोलन, शिक्षक-कर्मचारीका माग र विद्यालय शिक्षा ऐनको आवश्यकताको विषयमा धारणा राखेको थियो।
प्रधानमन्त्री ओलीले शिक्षकका जायज माग सम्बोधन गर्न सकिने विषयमा सल्लाह गरेर निर्णय लिने तथा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर रहेको आश्वासन दिएको सुवेदीले जनाए।
यसैबीच, शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेको थियो। छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे कुराकानी भएको महासंघले जनाएको छ।



