वीरगञ्जमा कफ्र्यु कायम, किन एकाएक तानवग्रस्त बन्यो बैठकस्थल ?

हनुमान जयन्तिको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभायात्रामा ढुंगामुढा भएपछि उत्पन्न तनावका कारण जारी गरिएको कफ्र्यु आइतबार राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ।
शोभायात्रामा लक्षित गरी केही युवाले ढुंगा प्रहार गरेपछि झडपको स्थिति सिर्जना भएको थियो। प्रारम्भमा शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्मका लागि लागू गरिएको कफ्र्युलाई पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले थप गर्दै राति १२ बजेसम्म विस्तार गरेका हुन्।
कफ्र्यु वीरगञ्जको पूर्वमा बाइपास सडक, पश्चिममा श्रीसिया, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्यद्वारसम्मको क्षेत्रमा लागू गरिएको छ। प्रशासनले जारी गरेको सूचनामा उक्त क्षेत्रमा आवतजावत, भेला, जलुश तथा सभासम्मेलनमा पूर्ण निषेध गरिएको उल्लेख छ।
शनिबारको झडपमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रसहित २५ जना सुरक्षाकर्मी र ८ जना सर्वसाधारण घाइते भएका छन्। कफ्र्यु उल्लंघन गरेको भन्दै प्रहरीले चलाएको छर्राबाट थप एक जना घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ सेल अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउन्ड हवाइ फायरसमेत गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन्।
आइतबार सर्वदलीय र सर्वपक्षीय बैठक बसेको थियो। बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले प्रतिबद्धता जनाएका छन्। घाइते सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने माग गरिएको छ।
विवाद उत्पन्न गराउने जो कोहीलाई कानूनी दायरामा ल्याउने विषयमा समेत सर्वदलीय सहमति कायम भएको जनाइएको छ।
सहमतिको प्रयास भइरहेका बेला एकाएक तानव बढेको थियो । त्यसअघि सर्वदलीय र सर्वपक्षीय बैठक सकारात्मक भए पनि झपडका २ पक्षबीच असमझदारी हुँदा तानव बढेको थियो ।
बैठकमा बसेका दुवैपक्ष होहल्ला गर्दै बाहिर निस्किएपछि प्रशासन कार्यालय तनावग्रस्त बनेको थियो । पुनः सहमतिको प्रयास भइरहेको प्रशासनले बताएको छ ।



