पुटिनसँग ट्रम्पका विशेषदूतको भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत स्टीभ विट्कफले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सेन्ट पिटर्सबर्गमा भेटेका छन्। ट्रम्पले युक्रेनमा युद्धविरामबारे “छिटो निर्णय लिन” रुसी राष्ट्रपतिलाई आह्वान गरिरहँदा विट्कफले पुटिनलाई भेटेका हुन्।
क्रेम्लिनले उक्त भेट चार घण्टाभन्दा लामो भएको र “युक्रेनी समाधानका पक्षहरू”मा केन्द्रित रहेको जनाएको छ। पुटिनसँग विट्कफले गरेको यो वर्षको यो तेस्रो वार्ता हो र यसलाई विशेषदूत किरिल दिमित्रीभले “फलदायी” भनेर व्याख्या गरेका छन्।
शुक्रवार उनले सामाजिक सञ्जालमा लेखे, “रुसले अगाडि बढ्नु पर्छ। एउटा भयानक र अर्थहीन युद्धमा सातामै हजारौँ मानिसहरूको ज्यान गइरहेको छ।” युक्रेनका लागि ट्रम्पका दूत किथ केलगले देश विभाजन हुन सक्ने कुरालाई अस्वीकार गरेपछि उनको यो स्टेटस आएको हो।
द टाइम्स पत्रिकासँगको अन्तर्वार्ताका क्रममा केलगले ब्रिटिश र फ्रान्सेली फौज युक्रेनको पश्चिमी क्षेत्रस्थित नियन्त्रित इलाकाहरूमा रहने सक्ने प्रस्ताव गरेका थिए। उनले त्यस क्षेत्रमा “विश्वास दिलाउने शक्ति”का रूपमा त्यस्ता फौझहरू राख्न सकिने प्रस्ताव गरेका हुन्।
त्यो शक्तिले युक्रेनमा युद्धविराम र देशको दीर्घकालीन आत्मविश्वास बढाउन मद्दत गर्ने ठानिएको छ र त्यसबारे चर्चा भइरहेको छ। उनले रुसी सेनालाई कब्जा गरिएका युक्रेनका पूर्वी भागमा रहनसक्ने प्रस्ताव पनि गरेको बताइएको छ।
“यसलाई तपाईंले दोस्रो विश्वयुद्धपछि बर्लिनमा भएको जस्तो गर्न पनि सक्नुहुन्छ”, उनको भनाइ उद्धृत गर्दै टाइम्स पत्रिकाले लेखेको छ। केलगले पछि सामाजिक सञ्जालमा आफूले भनेको कुरालाई “गलत रूपमा प्रस्तुत” गरिएको भन्दै त्यसको खण्डन गरेका छन्।
“म युक्रेनको सार्वभौमिकताको समर्थनमा युद्धविरामपछिको अवस्थाबारे कुरा गरिरहेको थिएँ,” उनले एक्समा लेखेका छन्, “म युक्रेनको विभाजन गर्ने कुरा गरिरहेको थिइनँ।” ती टिप्पणीहरूमा न त ह्वाइट हाउस न त किएभले तत्कालै नै प्रतिक्रिया जनाए।



