देशमुख्य खबर

वीरगञ्जमा हनुमान जयन्तिको शोभायात्रामा ढुंगा प्रहार : १३ सुरक्षाकर्मीसहित थुप्रै घाइते, कर्फ्यु आदेश जारी

हनुमान जयन्तिको अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्रामा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको छ। झडपका कारण पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित १३ सुरक्षाकर्मी घाइते भएका छन् भने शोभायात्राका केही सहभागीहरू पनि घाइते भएका छन्।

स्थिति नियन्त्रणबाहिर जान नदिन प्रशासनले वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लागु हुने आदेश जारी गरेका हुन्।

कर्फ्यु भेडियाही (पूर्व), श्रीसिया (पश्चिम), गण्डक चोक (उत्तर) र शंकराचार्यद्वार (दक्षिण) सम्मको क्षेत्रभित्र लागु गरिएको छ। यस क्षेत्रभित्र आवतजावत, सभा, जलुश र अन्य कुनै पनि भीडभाडपूर्ण गतिविधिमा रोक लगाइएको छ।

छपकैयामा शोभायात्रा अघि बढिरहेका बेला केही व्यक्तिले अचानक ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४६ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै २ राउण्ड हवाइ फायरसमेत गरेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए। प्रहरीले पानीको फोहोरा पनि प्रयोग गरेको थियो।

झडपको क्रममा छपकैयास्थित केही पसल र फर्निचरमा तोडफोड भएको छ भने ग्यारेजमा राखिएको एउटा पुरानो मोटरसाइकलमा आगजनी गरिएको बताइएको छ।

प्रहरीले अहिले अवस्था नियन्त्रणमा लिए पनि क्षेत्रको सुरक्षा सतर्कता अझै कडा बनाइएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button