
भन्सार छलि भारतबाट अवैध रूपमा ल्याइएका कपडासहितको पिकअप गाडी सशस्त्र प्रहरी बल, नेपाल पर्साले नियन्त्रणमा लिएको छ।
प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट सप्रनाउ लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकबाट बा.प्र.०१–०२७ च ८५०३ नम्बरको सेतो पिकअप गाडीलाई पछ्याउँदै बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२३ भलुवाही गाउँसम्म पुगेको थियो।
गाडीलाई साँघुरो गल्लीमा बेवारिसे अवस्थामा फेला पारेको र चालक फरार रहेको जनाइएको छ। गाडीभित्र भारतबाट चोरी पैठारी गरी ल्याइएका २० बोरा कपडा (सर्टिङ, सुटिङ, सारी र कुर्ता सुरुवाल) लोड गरिएको थियो। जसमध्ये कपडाको मूल्य रु. १०,०७,९००।– र पिकअप गाडीको भन्सार दाखिला मूल्य रु. २५,००,०००।– रहेको छ।
सम्पूर्ण सामान तथा गाडीको जम्मा मूल्य रु. ३५,०७,९०० बराबर भएको उल्लेख गरिएको छ। बरामद सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



