No Image Headlineअन्तराष्ट्रिय

अमेरिकी भन्सार महशुल वृद्धि : विश्व अर्थतन्त्र संकटमा, ट्रम्पलाई रिझाउने रणनीतिमा मोदी

अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक विश्व अर्थव्यवस्थामा हलचल मच्चाउनेगरी भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेपछि विश्वभर यसको व्यापक प्रभाव देखिएको छ। ट्रम्पको घोषणाले करिब ५ दर्जन देशलाई प्रभाव पारेको छ। यद्यपि छिमेकी देश क्यानडा र मेक्सिको भने यस घोषणाबाट अछुतो रहेका छन्।

भन्सार वृद्धिको घोषणापछि विश्व शेयर बजारमा तीव्र गिरावट आएको छ। लगानीकर्ताले अर्बौं डलर गुमाएका छन्। अर्थशास्त्रीहरूका अनुसार यो निर्णयले विश्वव्यापी आर्थिक मन्दीको जोखिम निम्त्याएको छ। जेपी मोर्गनले विश्व आर्थिक मन्दीको सम्भावना ६० प्रतिशत पुगेको जनाएको छ।

चीन–अमेरिका व्यापार द्वन्द्व चर्किँदै

ट्रम्प प्रशासनले चीनका सामानमा ३४ प्रतिशत भन्सार शुल्क बढाउने निर्णय गरेपछि चीनले पनि अमेरिकी सामानमा उस्तै प्रतिशतको भन्सार वृद्धिको घोषणा गर्‍यो। चीनले प्रविधिमा प्रयोग हुने महत्वपूर्ण पदार्थ ‘रेअर अर्थ मेटेरियल्स’ को निर्यातमा समेत कडाइ गर्ने बताएको छ। चीनले जापान र दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध थप सुदृढ गर्न पनि पहल थालेको छ।

युरोपेली युनियनको प्रतिकृया र सम्भावित कदमहरू

युरोपेली युनियन (ईयू) ले अमेरिकी निर्णयप्रति कडा प्रतिक्रिया दिएको छ। स्पेनी मिडिया एल पाइस का अनुसार, ईयूले अमेरिकी सामानमा प्रतिबन्धको तयारी गरिरहेको छ। विशेष गरी जर्मनी र फ्रान्सजस्ता ईयूका प्रभावशाली मुलुकहरूले कडा कदम चाल्न जोड दिइरहेका छन्।

भारतको मौनता र रणनीति

ट्रम्पको घोषणाले भारतलाई २६ प्रतिशत भन्सार शुल्कको मारमा पारेको छ। तर भारतले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। रोयटर्स का अनुसार भारत वार्ताको प्रक्रिया बिग्रन नदिने रणनीतिमा छ। ट्रम्प र मोदीबीचको व्यक्तिगत सम्बन्ध निकै राम्रो भए पनि ट्रम्पले भारतमाथि बारम्बार अनुचित व्यापारिक व्यवहारको आरोप लगाउँदै आएका छन्।

भारतले अमेरिकातर्फ ७७ अर्ब डलर बराबरको सामान निर्यात गर्छ, जबकि अमेरिका हुँदै ४२ अर्ब डलरको मात्रै सामान आयात गर्छ। यसले भारतलाई करिब ३५ अर्ब डलरको व्यापार नाफा दिलाएको छ। तर, चीन, रुस, यूएईजस्ता अन्य ठूला साझेदारहरूसँग भारत व्यापार घाटामा छ।

भारतीय उद्योगमा असर र संभावित अवसर

भन्सार शुल्क वृद्धिले भारतमा उत्पादित वस्तुको मूल्य अमेरिकामा बढ्ने निश्चित छ, जसको प्रत्यक्ष असर श्रम–केन्द्रित निर्यात उद्योगहरूमा पर्न सक्नेछ। विश्लेषक प्रियंका किशोरका अनुसार आर्थिक वृद्धिमा कमजोर अवस्थाको बेला यस्तो असरले आन्तरिक मागमा पनि प्रभाव पार्न सक्छ।

तर, केही विज्ञहरूको भनाइमा भारतले यो अवस्थालाई अवसरमा बदल्न सक्छ। अनुभवी वित्तीय व्यवस्थापक निलेश शाह भन्छन्, “अरु एशियाली मुलुकबाट जुत्ता तथा कपडा उद्योग भारतमा स्थानान्तरण गर्न सकिन्छ।”

भारतको नीतिगत समायोजन र ट्रम्पको प्रभाव

ट्रम्पको घोषणाले भारतलाई आफ्नो नीति परिमार्जन गर्न बाध्य पारेको देखिन्छ। अघिल्लो वर्ष भारतले अमेरिकी मोटरसाइकल आयातमा भन्सार शुल्क घटाउने निर्णय लिएको थियो, जसलाई ट्रम्पलाई ‘खुशी पार्ने’ कदमको रूपमा हेरिएको थियो। त्यस्तै, भारतले एफ-३५ लडाकु विमान खरिद, तेल तथा ग्यास खरिद लगायतका सम्झौता गर्दै अमेरिका–भारत व्यापारलाई सन्तुलनमा ल्याउने प्रयास गरिरहेको छ।

भविष्यमा टेस्लालगायत अमेरिकी कम्पनीहरूलाई भारतीय बजारमा सहज पहुँच दिन भारतले नीति परिवर्तन गरिसकेको छ। टेस्लाले भारतमा शोरुम स्थापना गर्नेसम्मको समझदारी गरिसकेको छ।

नयाँ व्यापार सम्झौताको तयारी

भारत र अमेरिका नयाँ व्यापार सम्झौताका लागि वार्ताको प्रक्रियामा छन्। विश्लेषकहरूका अनुसार ट्रम्पले भारतमाथि भन्सार वृद्धिको दबाब यही सम्झौतामा आफ्नो पक्ष बलियो बनाउन गरेको हुनसक्ने देखिन्छ।

हालको चुनौतीपूर्ण अवस्थामा भारत सरकारले तुरुन्त नीति बनाइ प्रभावित उद्योगलाई राहत दिनुपर्ने देखिन्छ। गहना, कपडा तथा कृषिजन्य उत्पादनमा केन्द्रित सहायता कार्यक्रम आवश्यक रहेको विज्ञहरूको सुझाव छ।

अर्थशास्त्रीहरूको बुझाइमा ट्रम्पको व्यापार नीति ‘ट्रान्ज्याक्सनल’ (कारोबार–केन्द्रित) भएकाले उनले कुनै निर्णय गर्दा दीर्घकालीन कूटनीतिक सोचभन्दा तत्कालीन लाभ हेर्ने प्रवृत्ति देखिन्छ। यही कारणले ट्रम्पको घोषणाले विश्व अर्थतन्त्रमा अनपेक्षित तर गम्भीर असर पार्ने विश्लेषकहरूको धारणा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button