
सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगञ्जमा एक बालकलाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ।
मंगलबार साँझ सशस्त्र प्रहरी बल गुल्म, वीरगञ्जबाट खटिएको टोलीले भारतको रक्सौलबाट टाँगामा वीरगञ्ज आउँदै गरेका एक बालकलाई शंका लागी जाँच गरेको थियो।
चेकजाँचको क्रममा जिल्ला बारा, महागढीमाई नगरपालिका–१४, भौराका १३ वर्षीय चन्दन सहनीले बोकेको बोराभित्र आलु राखेर लुकाइछिपाइ ल्याइएको ओनेरेक्स कफ सिरप ५० बोतल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बालकलाई लागू औषधसहित नियन्त्रणमा लिएर थप आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा लागू औषध तस्करी नियन्त्रण गर्न निगरानी बढाइएको बताएको छ।



