वीरगञ्जमा चैत २२ देखि मधेश साहित्य महोत्सव आयोजना हुने

औद्योगिक र व्यापारिक केन्द्रको रूपमा परिचित वीरगञ्जमा यही चैत २२ गतेदेखि दुई दिने मधेश साहित्य महोत्सव आयोजना हुने भएको छ। आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।
उद्यमी तथा साहित्यकार गणेश लाठका अनुसार वीरगञ्जको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक महत्वलाई उजागर गर्दै साहित्यमा पनि अग्रणी सहरको रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। विज्ञप्तिमा उल्लेख गरिएअनुसार मधेश क्षेत्रको सामाजिक, सांस्कृतिक तथा साहित्यिक उन्नयन प्रवर्द्धन गर्न यो महोत्सव महत्वपूर्ण हुनेछ।
महोत्सवले मधेशका आठ जिल्ला र समग्र तराई-मधेशका २२ जिल्लाका कला, भाषा, संस्कृति तथा साहित्यलाई समेट्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। आयोजक सदस्य सलमा खातुनका अनुसार यो महोत्सव मधेशको समग्र पहिचानलाई उजागर गर्ने दीर्घकालीन अभियानको सुरुवात हो।
वीरगञ्जले प्रजातान्त्रिक आन्दोलनदेखि मधेश आन्दोलनसम्मका नागरिक अधिकारका विषयमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खातुनले साहित्य तथा संस्कृतिको प्रवर्द्धनमार्फत नवीन विचारहरूको आदान-प्रदान गराउने लक्ष्य महोत्सवले राखेको बताइन्।
साहित्य समाजको ऐना भएको र यसले परिवर्तनका लहरहरू सिर्जना गर्न सक्ने भएकाले महोत्सवले नेपाली साहित्यको विविधता, मधेशी समाजका मुद्दा, भाषिक एवं सांस्कृतिक विशेषता उजागर गर्दै साहित्यिक पुनर्जागरण ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
महोत्सवको पहिलो संस्करणमा नेपालका प्रतिष्ठित साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक तथा सामाजिक अभियन्ताहरू सहभागी हुनेछन्। महोत्सवमा साहित्यसँगै आर्थिक, सामाजिक तथा राजनीतिक विषयमा पनि छलफल गरिने जनाइएको छ।



