आईपीएल डेब्यु खेलमै अश्विनी कुमारको उत्कृष्ट प्रदर्शन, लिए ४ विकेट

मुम्बई इन्डियन्सका युवा तीव्र गतिका बलर आश्विनी कुमारले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएका छन्। उनको प्रभावशाली बलिङ प्रदर्शनकै कारण मुम्बईले तेस्रो खेलमा पहिलो जित दर्ता गर्न सफल भयो।
सोमबार राति कोलकाता नाइट राइडर्सविरुद्ध भएको खेलमा आश्विनीले तीन ओभरमा २४ रन मात्र खर्चेर चार महत्वपूर्ण विकेट लिए। उनी आईपीएलको डेब्यु खेलमै चार विकेट लिने पहिलो भारतीय बलर बनेका छन्।
खेलको पहिलो बलमै आश्विनीले कोलकाताका कप्तान अजिन्का रहाणेको विकेट लिए। उनले कोलकाताका रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको विकेटसमेत लिएका थिए। पाण्डे र रसेललाई उनले बोल्ड आउट गरेका थिए। मुम्बईले उनलाई अक्सनमा ४० लाखमा अनुबन्ध गरेको थियो। माहालीमा जन्मिएका २३ वर्ष २१५ दिनका आश्विनी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए।
मुम्बईको उत्कृष्ट बलिङ प्रदर्शनका कारण कोलकाता १६.२ ओभरमै ११६ रन बनाउँदै अलआउट भयो। मुम्बईले यो लक्ष्य १२.५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको जित दर्ता गर्यो। मुम्बईका ओपनर रायन रिकेल्टनले ४१ बलमा अविजित ६२ रन बनाए, जसमा उनले चार चौका र पाँच छक्का प्रहार गरे। सूर्यकुमार यादवले पनि तीव्र गतिमा रन जोड्दै ९ बलमा २७ रन बनाए।
मुम्बईका लागि दीपक चहरले दुई विकेट लिँदा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए। कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए, तर उनको बलिङ प्रभावकारी रहन सकेन।
वानखेडे रंगशालामा भएको खेलमा कोलकाताका अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए भने मनदीप सिंहले २२ रनको योगदान दिए।
मुम्बई इन्डियन्सको यो जितमा अश्विनी कुमारको बलिङ महत्त्वपूर्ण रह्यो, जसले उनी आईपीएलमा एक चम्किला नयाँ प्रतिभाका रूपमा देखिएका छन्।


