नेपालमा राजतन्त्रको पक्षमा प्रदर्शन किन भइरहेको छ, यस्ता छन् कारण

राजनीतिशास्त्रका अध्येताहरु मुख्य राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णाका कारण मानिसहरू राजतन्त्रको पक्षमा लागेको बताउँछन् । उनीहरु यसलाई क्षणिकरूपमा विगततिर फर्किएको विश्लेष्ण गर्दछन् ।
पूर्वराजदूतसमेत रहेको राजनीतिशास्त्री लोकराज बरालका विचारमा दलहरुको जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्दा बरु राजा नै ठीक भन्ने क्षणिक भावना जागृत भएको हुन सक्ने बताउँछन्।
यस्तो जहाँ पनि हुन्छ। जर्मनीमा यसपालिको चुनावमा हिटलरको चरम दक्षिणपन्थी पार्टी पनि दोस्रो भयो। मान्छेहरू कहिलेकाहीँ भावनात्मक हुन्छन् र वस्तुगत रूपमा मूल्याङ्कन पनि गर्दैनन्, उनले सञ्चारमाध्यमहरुसित भनेका छन्।
पार्टीका नेताहरू भ्रष्ट भए, बूढा भए भन्ने पनि एउटा बुझाइ छ। यस्तो जहाँ पनि हुन्छ। तर व्यवस्था परिवर्तनको कुरा गर्दैनन्। केही नेता मानिसहरूलाई मन नपरेको हुन सक्ने भए पनि व्यवस्था नै परिवर्तनका पक्षमा जनमत नबनिसकेको बरालको दाबी छ।
माओवादी सचिव राम कार्की भने राजतन्त्रको पक्षमा मानिसहरू सडकमा देखिनुपछाडि नेताहरूको आचरण पनि कारण रहेको बताउँछन्।
मार्क्सवाद, लेनिनवाद र माओवाद पनि सैद्धान्तिक रूपमा सामन्तवादको विरुद्धमा छ, उनी भन्छन्। पछि त्यही पार्टीमा व्यवहारमा सामन्तवादका लक्षणहरू देखा परे। अहिले राजतन्त्रको चुरीफुरी देखा पर्नुको कारण राजतन्त्र अन्त्य गर्ने पार्टीमा राजतन्त्रकालीन स्वभाव देखा पर्यो।



