उखुबाट चिनी उत्पादन अनुपातमा कमी, किन घट्यो उत्पादन ?

एभरेष्ट चिनी उद्योगले गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादनको अनुपातमा गिरावट आएको जनाएको छ। उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी मात्र उत्पादन भएको छ, जबकि गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको थियो।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार यस वर्ष उद्योगले चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ। गत मङ्सिर २६ गतेदेखि फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरी दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको छ। गत वर्ष उद्योगले २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको थियो।
यद्यपि उखु क्रसिङ् र कुल चिनी उत्पादनको परिमाण बढी देखिए पनि चिनी उत्पादन अनुपातमा कमी आएको उद्योगले जनाएको छ। महाप्रबन्धक शुक्लाका अनुसार उत्पादन अनुपात घट्नुको कारण खोजी भइरहेको छ।
किसानहरूले भने हिउँदमा पर्याप्त पानी नपर्नु र गत वर्ष अनुकूल वर्षा नहुनु उत्पादन घट्नुको मुख्य कारण हुन सक्ने बताएका छन्। बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोका अनुसार मौसमीय असहजताले उखुको गुणस्तरमा असर पुर्याएको हुनसक्छ।
यस वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ् गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर, उखु अभावका कारण उद्योग चैतभरि सञ्चालन गर्ने योजनामा असफल भयो र क्रसिङ् फागुन मसान्तसम्म मात्र सीमित रह्यो। महाप्रबन्धक शुक्लाका अनुसार किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन वृद्धि गर्न नसकेको अवस्था छ।



