रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्ध विरामको सहमति : अब के हुन्छ, के हुँदैन ?

साउदी अरेबियामा लगातार तीन दिनसम्म चलेको वार्तापछि रुस र युक्रेन ब्ल्याक सीमा क्षेत्रमा युद्ध विराम गर्न सहमत भएका छन्। अमेरिकी प्रतिनिधिमण्डलको उपस्थितिमा सम्पन्न वार्तामा उक्त सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो वार्ता अमेरिका र साउदी अरबको समन्वयमा सम्पन्न भएको हो।
युद्ध विराममा संलग्न सबै पक्षहरूले स्थायी शान्ति स्थापनाका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, रुस र युक्रेनले ऊर्जा केन्द्र तथा भौतिक संरचनामा आक्रमण नगर्ने पुरानो सहमति कार्यान्वयन गर्न सहमत भएका छन्।
रुसी अधिकारीहरूले भने, युद्ध विराम कार्यान्वयनका लागि विगतमा गरिएको खाद्य तथा मल सम्बन्धी सम्झौता लागू हुनुपर्ने बताएका छन्। यो वार्तामा रुस र युक्रेनी अधिकारीहरू प्रत्यक्ष रूपमा नबसे पनि, ब्ल्याक सीमा क्षेत्रमा आक्रमण रोक्ने सहमति सकारात्मक रहेको प्रतिक्रिया प्राप्त भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले किभबाट प्रतिक्रिया दिँदै भने, “यसले कति प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ, तर यो सही समयमा गरिएको सही निर्णय हो। यसले सही दिशातर्फ लैजानेछ।”
रुसले यो सहमति कार्यान्वयनका लागि बैंकहरूमा लागेको प्रतिबन्ध हटाउनुपर्ने तथा अन्तर्राष्ट्रिय स्विफ्ट भुक्तानी प्रणाली पुनः लागू गर्नुपर्ने माग राखेको छ। साथै, कृषिका लागि आवश्यक मेसिन तथा खाद्यान्न उत्पादनसँग सम्बन्धित सामग्रीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
सहमति कहिलेदेखि लागू हुनेछ भन्ने स्पष्ट नभए पनि अमेरिकाले रुसमाथि लगाइएका प्रतिबन्ध हटाउने विषयमा पुनर्विचार गरिरहेको जनाएको छ।
जेलेन्स्कीले भने, “रुस कमजोर भएपछि लाचार भएको हो। यदि उसले सहमति कार्यान्वयन गरेन भने थप प्रतिबन्ध लगाउन आग्रह गरिनेछ।” रुसका रक्षामन्त्री रुस्तान उमरोभले तेस्रो पक्षले सम्झौताको कार्यान्वयनमा निगरानी गर्नुपर्नेमा जोड दिएका छन्।



