पूर्वराजाको बढ्दो सक्रियता, राजसंस्था पुनर्स्थापनाको सम्भावना कति ?

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडियो सन्देशपछि राजसंस्थाको पुनर्स्थापनासम्बन्धी बहस फेरि चर्किएको छ। राजावादीहरूले शाहको सन्देशलाई आफ्नो मुद्दालाई बल पुर्याउने अवसरको रूपमा व्याख्या गरेका छन्।
पूर्वराजा शाहले सन्देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै असन्तोष व्यक्त गरेका थिए। उनले देशको उन्नति र राष्ट्रिय एकताको लागि सबैलाई साथ दिन आह्वान गरेका थिए। पछिल्ला केही सातायता शाह बुटवलदेखि पोखरासम्म विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी भइरहेका छन्, जसमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको दाबी गरिएको छ।
राजसंस्थाका पक्षधरहरूको तयारी?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक पछाडि फर्किने पक्षमा नभए पनि वर्तमान अवस्था यथास्थितिमा राख्न नहुने बताएका छन्। उनले देशलाई दुर्घटनाबाट जोगाउन सबै शक्तिबीच नवीन समझदारी आवश्यक रहेको बताए। उनका अनुसार आवश्यक परे राजसंस्था पक्षधरहरू एउटै मोर्चामा उभिएर अघि बढ्न धेरै समय लाग्ने छैन।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राजसंस्था पक्षधर शक्तिहरू सक्रिय बन्दै गएको बताए। थापाका अनुसार परिवर्तनकामी शक्तिहरू एकजुट भएर अगाडि बढ्ने सम्भावना बढ्दै गएको छ। उनीहरूबीच अनौपचारिक कुराकानी भइरहेको समेत उनले जानकारी दिए।
राजसंस्थाको सम्भावना?
राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपालमा राजसंस्था पुनर्स्थापना असान्दर्भिक भइसकेको दाबी गरेका छन्। उनका अनुसार केही समूहहरूले आफ्नो राजनीतिक भविष्यका लागि यो विषय उठाइरहेका छन् तर राजसंस्थाको पुनर्स्थापनाका लागि कुनै राजनीतिक आधार छैन। खतिवडाले विगतमा पनि पटकपटक यस्तो बहस उठे पनि त्यसले ठोस परिणाम ननिकालेको बताए।
देश सञ्चारका प्रधान सम्पादक युवराज घिमिरेका अनुसार पछिल्लो समय अर्थतन्त्र र सुशासनको कमजोर अवस्थाका कारण कतिपय जनतामा राजसंस्थाप्रति आशा जागेको हुनसक्छ। तर, राजसंस्था फर्किए पनि शासन भने राजनीतिक दलहरूले नै गर्ने उनको भनाइ छ।
सरकारको कडा टिप्पणी
पूर्वराजा शाहको सक्रियता र राजसंस्था पक्षधरहरूको गतिविधि बढ्दै जाँदा सरकारका प्रवक्ताहरूले कडा प्रतिक्रिया दिएका छन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्यत्र भएको भए पूर्वराजा शाह र राजपरिवारका सदस्यहरू जेलमा हुने टिप्पणी गरेका छन्। नेपाल उदार लोकतान्त्रिक मुलुक भएकाले मात्र उनलाई सम्मानपूर्वक राखिएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्वराजालाई चुनाव लड्न चुनौती दिएका छन्। उनले शाहलाई संविधानअनुसार अघि बढ्न आग्रह गर्दै यदि उनी लोकप्रिय छन् भने पार्टी खोली चुनाव लड्न सक्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै आयोजना गरेका र्यालीहरूमा राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचना खारेजी, तथा सनातन हिन्दू राज्य स्थापनाको पक्षमा नाराबाजी गरिएको थियो। राजसंस्था पक्षधरहरूका गतिविधि बढ्दै गए पनि यसको राजनीतिक भविष्य अझै अनिश्चित रहेको देखिन्छ।



