No Image Headlineखेल संसार

नेपाल पुलिस क्लब वीरगञ्ज गोल्डकपको फाइनलमा प्रवेश, घरेलु टोली वीरगञ्ज युनाइटेड सडन डेथमा पराजित

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधवार आदर्शनगर रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा घरेलु टोली वीरगञ्ज युनाइटेड क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि भएको टाई ब्रेकर ३–३ को बराबरीमा सकिएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा पुलिसका सिसिर चौधरी, नीरज खड्का, प्रज्वल चौधरी र सोनिल तामाङले गोल गर्दै टोलीलाई जित दिलाए। वीरगञ्जका अजित चौधरी, विक्रम थोकर, प्रमिजय गच्छेदारले गोल गरे पनि विवेक चौधरीको प्रहार गोलपोस्टको बार माथिबाट बाहिर गएपछि वीरगञ्ज प्रतियोगिताबाट बाहिरियो।

टाई ब्रेकरमा पुलिसका कप्तान रामचन्द्र वाजी, गोलरक्षक अमित टमाटा र विवेक पाण्डेले गोल गरेका थिए भने उज्वल राईको प्रहार बाहिरिएको थियो। त्यस्तै, सञ्जीव लामाको प्रहार वीरगञ्जका गोलरक्षकले रोकिदिएका थिए। वीरगञ्जका लागि आशा गुरुङ, कप्तान शीशष थापा र कृपाकान्त महत्तोले गोल गरे। तर, शान्त बहादुर गुरुङको प्रहार पुलिसका गोलरक्षक अमित टमाटाले बचाउ गरेका थिए भने विदेशी खेलाडी बाफरको प्रहार गोलपोस्टको बारमा लागेर फर्किएको थियो।

पुलिसका गोलरक्षक अमित टमाटा म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो।

प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र सलहेश फुटबल क्लब, सिराहाबीच हुनेछ।

भेट्रान सिटी क्लब वीरगञ्जद्वारा आयोजित यो प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button