वीरगञ्ज गोल्डकप : टाई ब्रेकरमा सलहेश फुटबल क्लब विजयी

वीरगञ्जमा जारी दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा भएको दोस्रो दिनको खेलमा सलहेश फुटबल क्लब सिराहाले सङ्कटा क्लब काठमाडौँलाई टाई ब्रेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
आइतबार वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित प्रतिगोयताको दोस्रो खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले आक्रामक र रक्षात्मक रणनीति अपनाए पनि गोल गर्न भने असफल रहे ।
सङ्कटा क्लबको अनुभवी खेलाडीहरू र सलहेशको युवा जोसबिचको भिडन्तले दर्शकहरूलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्यो । गोलरहित बराबरीपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।
टाई ब्रेकरमा सलहेशका गोलकिपर विशाल सुनार नायक बने । उनले सङ्कटा क्लबका रमा थापा मगरको दोस्रो पेनाल्टी प्रहारलाई शानदार ढङ्गले रोकेर टिमलाई खेलमा अग्रता दिलाए ।
सलहेशका लागि पहिलो पेनाल्टी एमबीओ एनिसेटले शानदार ढङ्गले गोलमा परिणत गरे । त्यसपछि सुमित श्रेष्ठले दोस्रो, अमन लामाले तेस्रो, शिशिर लेखीले चौथो र जय गुरुङले पाँचौँ तथा निर्णायक पेनाल्टी गोल गरे । जय गुरुङको अन्तिम प्रहारले सलहेशको जित पक्का गर्यो ।
सङ्कटा क्लबले पनि कडा टक्कर दियो । उनीहरूका लागि पहिलो पेनाल्टी सुनिल खड्का, तेस्रो राजीव लोप्चन, चौथो सिरिङ्ग लामा र पाँचौँ साम कार्लोसले गोल गरे । तर, दोस्रो पेनाल्टीमा रमा थापा मगरको प्रहार रोकिएपछि सङ्कटाको सेमिफाइनल यात्रा टुङ्गियो ।


