भारत सरकारको सहयोगमा बाराको बङ्गरी नदीमा निर्मित पुल उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमा निर्मित पुलको उद्घाटन गरिएको छ। सडक विभागका इन्जिनियर शुभराज न्यौपाने र भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले संयुक्त रूपमा पुलको उद्घाटन गरेका हुन्।
बाराको भलुही भरवलिया–८ मा रहेको यस पुलले चिलझप्टी र फेटालाई जोड्ने सडक विभागले जनाएको छ। नेपाल–भारत विकास सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदानमा निर्मित यस पुल निर्माणका लागि १ करोड ९६ लाख रुपैयाँ खर्च गरिएको हो।
पुल सञ्चालनमा आएपछि बाराको भलुही भरवलिया, फेटा तथा छिमेकी गाउँका बासिन्दाहरूलाई महानगरपालिकासँग यातायात सम्पर्कमा सहजता पुगेको छ।
भारत सरकारले सन् २००३ देखि नेपालमा ५६३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ। स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक पूर्वाधारका क्षेत्रमा हालसम्म ४९३ परियोजनाहरू पूरा भइसकेका छन्।
भारतीय महावाणिज्य दूतावास, वीरगन्जको क्षेत्राधिकारअन्तर्गत ७४ सामुदायिक विकास परियोजनाहरू स्वीकृत भएका छन्, जसमा हालसम्म ५६ परियोजनाहरू सम्पन्न भइसकेको महावाणिज्यदूतावासले जनाएको छ।



