युक्रेनको युद्धकालीन अर्थतन्त्र: २०२५ सम्मको परिदृश्य

रुसले युक्रेनमाथि गरेको अतिक्रमण झन्डै तीन वर्ष पुग्न लाग्दा युद्धको आर्थिक प्रभाव गहिरिँदो छ। जानकारहरू भन्छन्, “सेनाले लडाइँ जिते पनि वास्तविक युद्ध अर्थतन्त्रले जित्ने हो।” युक्रेनका लागि मुख्य चुनौती भनेकै युद्ध खर्च धान्न सक्ने क्षमता हो।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले हालै युद्धको अन्त्य न्यायोचित ढंगले हुनुपर्ने बताएका छन्। तर, अमेरिकाले सहयोग कटौती गर्ने संकेत दिएपछि युक्रेनको आर्थिक स्थिति अझ जटिल बनेको छ।
युद्धअघि रुसको अर्थतन्त्र युक्रेनको तुलनामा १० गुणा ठूलो थियो। २०२२ यता युक्रेनले आफ्नो अधिकांश बजेट रक्षा क्षेत्रमा खर्च गरेको छ। सुरुमा सरकारको घाटा पूर्ति गर्न बन्ड बेच्ने र मुद्रा छाप्ने रणनीति अपनाइयो, तर त्यसले मुद्रास्फीति २५% भन्दा बढीले बढायो। अन्तर्राष्ट्रिय सहयोगकै कारण अर्थतन्त्र केही हदसम्म स्थिर भएको हो।
अन्तर्राष्ट्रिय सहयोग र युक्रेनको वित्तीय स्थिति
प्रारम्भमा अमेरिका मुख्य दाता भए पनि हाल युरोपेली संघ (ईयू) नै प्रमुख वित्तीय सहायक बनेको छ। हाल ८०% युद्धको लागत युक्रेन र युरोपले बेहोरिरहेका छन्, भने २०% मात्र अमेरिका सहयोग गरिरहेको छ।
सन् २०२३ मा युक्रेनी अर्थतन्त्र ५.३% ले वृद्धि भयो भने २०२४ मा ३.६% को वृद्धिको अनुमान छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार, युक्रेनलाई वार्षिक ४० अर्ब डलर आवश्यक पर्छ, जुन विदेशी सहयोग बिना असम्भव छ।
ऊर्जा संकट र श्रमशक्ति अभाव
युद्धका कारण युक्रेनको ऊर्जा आपूर्तिमा गम्भीर धक्का लागेको छ। रुसले ऊर्जासम्बन्धी पूर्वाधारमा १,००० भन्दा बढी आक्रमण गरिसकेको छ। मुख्य रूपमा परमाणु ऊर्जा केन्द्रहरू, वायु तथा सौर्य प्रणालीहरू, र बिजुली आयातमार्फत ऊर्जा आपूर्ति भइरहेको छ।
युक्रेनको श्रमशक्ति पनि घट्दै गएको छ। युद्धका कारण लाखौं नागरिक विस्थापित भएका छन्। करिब ८८०,००० नागरिक सैन्य सेवामा संलग्न छन् भने ७० लाख नागरिक शरणार्थी बनेका छन्।
२०२५ को परिदृश्य :
युक्रेनी अर्थ मन्त्रालयका अनुसार, २०२४ मा ५२ अर्ब डलर युद्धमा खर्च गरिएको छ। २०२५ का लागि ४९ अर्ब डलर रक्षा खर्च छुट्याइएको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक चौथाइ हो।
सरकारले कर वृद्धिको योजना बनाए पनि त्यसले व्यावसायिक गतिविधिमा असर पार्न सक्छ। युक्रेनको अर्थतन्त्र मुख्य रूपमा अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ, तर आगामी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले सहयोग निरन्तरता दिन्छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन।
रुस-युक्रेन युद्धको समाधानका लागि कूटनीतिक पहल तीव्र पारिएका छन्, तर दीर्घकालीन शान्ति अझै टाढा देखिन्छ।



