कृषि

पाथीभरा केबलकार निर्माण विवाद उत्कर्षमा, किन भइरहेको छ पूर्वी नेपाल अशान्त ?

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनासम्बन्धी विवाद चर्किंदै गएको छ। गत माघ १२ गते बलुडाँडामा सुरक्षाकर्मी र ‘नो केबलकार’ समूहबीचको झडपपछि सुरु भएको आन्दोलन अझैसम्म जारी रहेको छ।

बिहीबार पाथीभरा क्षेत्रको काफ्लेपाटीस्थित प्रस्तावित केबलकार परियोजनाको बटम स्टेशननजिक ‘नो केबलकार’ पक्षधरहरूले ‘मुक्कुमलुङ बचाऔँ पदयात्रा’ आयोजना गरे। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आन्दोलनकारीहरूको झन्डै ३०० जनाको समूहले कोणसभा गर्न पाउनुपर्ने माग गर्दै सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपमा ११ जना प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन्। गम्भीर घाइते सवारी चालक राजकुमार पौडेलको झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार रातभर आन्दोलनकारीहरूले केबलकार बटम स्टेशन निर्माणस्थल घेराबन्दी गर्दै निर्माण सामग्री हटाउन दवाव दिएपछि तत्कालका लागि निर्माणकार्य रोकिएको छ। शुक्रबार पनि आन्दोलनकारीहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाल सरकारले गत माघ २० गते गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरे पनि हालसम्म विवाद समाधान हुन सकेको छैन। माघ २२ गतेको वार्तामा माघ २७ गते निर्णायक वार्ता गर्ने सहमति भए पनि वार्ता निष्कर्षमा पुग्न सकेन।

‘नो केबलकार’ पक्षधरहरूले सरकारसँग मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न माग गरेका छन्। संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले पाथीभरामा केबलकार बने मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने बताएका छन्।

केबलकार निर्माणको समर्थनमा पनि ताप्लेजुङमा नागरिकहरू सडकमा उत्रिएका छन्। केही दिनअघि नागरिक विकासप्रेमी युवा समाजको अगुवाइमा ‘सद्भाव र्‍याली’ निकालिएको थियो। सहभागीहरूले केबलकार बने जिल्लाको विकासले फड्को मार्ने दाबी गरेका छन्।

यसैबीच, ‘नो केबलकार’ आन्दोलनलाई १२ वटा जातीय संस्थाहरूले समर्थन जनाइसकेका छन्। विभिन्न आठ राजनीतिक दलले आन्दोलनलाई समर्थन गर्दै संयुक्त वक्तव्यसमेत जारी गरेका छन्।

स्थिति थप जटिल बन्दै गएपछि सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। विवाद समाधानका लागि वार्ता प्रयास जारी रहेको भए पनि पक्ष र विपक्षबीच समझदारी कायम हुन नसक्दा पूर्वी नेपालमा अशान्ति बढ्दै गएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button