No Image Headlineदेश

नारायणी अस्पताल : डाक्टरजति काजमा, सहायकको भरमा चल्दैछ उपचार

वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्न आनाकानी गर्दै आएको छ। अस्पतालमा विभिन्न पदमा दरबन्दीमा नियुक्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरू हाल अन्य अस्पतालहरूमा काजमा कार्यरत छन्, जसले गर्दा अस्पतालमा चिकित्सक अभाव सिर्जना भएको छ।

अस्पताल प्रशासनका अनुसार १६ जना चिकित्सकसहित ३४ जना स्वास्थ्यकर्मी नारायणी अस्पतालबाट काज लिएर अन्य सरकारी अस्पतालहरूमा खटिएका छन्। अस्पताल प्रशासनले उनीहरूलाई पुनः अस्पतालमा फिर्ता ल्याउन मन्त्रालयलाई पटकपटक पत्राचार गरे पनि अहिलेसम्म कुनै निर्णय भएको छैन।

अस्पतालमा बिरामीहरूको चाप बढ्दै गए पनि सम्बन्धित विभागमा विशेषज्ञ चिकित्सकहरूको अभाव छ। रेडियोलोजिस्ट डा. पुष्पराज अधिकारी बिरामी बिदामा रहेकाले हाल यो विभाग चिकित्सकविहीन भएको छ। अर्का रेडियोलोजिस्ट डा. दिवस सापकोटा भरतपुर अस्पतालमा काजमा रहेकाले सहायकहरूबाट सेवा प्रवाह भइरहेको छ। शल्यक्रिया गर्ने क्रममा बेहोस पार्ने विशेषज्ञ एनेस्थेसियोलोजिस्ट डा. मञ्जु महर्जन परोपकार प्रसूति अस्पतालमा काजमा रहेकाले नारायणी अस्पतालमा सहायकहरूबाट बेहोस गराएर शल्यक्रिया गराइँदैछ।

ग्यास्ट्रोलोजिस्ट डा. अरुण ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, नेफ्रोलोजिस्ट डा. नीरज ढकाल वीर अस्पतालमा, डेन्टल सर्जन डा. वर्षा थापा लुम्बिनी प्रदेशमा, छालारोग विशेषज्ञ डा. आनन्द नेपाल पोखरा क्षेत्रीय अस्पतालमा, र अर्थोपेडिक सर्जन डा. भरतबहादुर खत्री अज्ञात स्थानमा काजमा रहेका छन्। त्यस्तै, अन्य थुप्रै विशेषज्ञ चिकित्सकहरू विभिन्न अस्पतालहरूमा काजमा रहेकाले नारायणी अस्पतालमा सेवाप्रवाह प्रभावित भएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार, आवश्यक चिकित्सकका लागि दुई पटक आवेदन माग गरिएको भए पनि कसैले चासो देखाएका छैनन्। उनले चिकित्सक र स्वास्थ्यकर्मी अभावका कारण अस्पतालमा सेवा प्रवाह प्रभावित भएको भन्दै स्वास्थ्य मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरूलाई तत्काल समाधानका लागि आग्रह गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button