मानिसको मुखमा पाइने ब्याक्टेरियाले कसरी तपाईंको मस्तिष्क स्वास्थ्यको संकेत गर्छ ?

हालै गरिएको एक अध्ययनले मानिसको मुखमा पाइने केही विशेष प्रकारका ब्याक्टेरियाहरू उमेरसँगै मस्तिष्कले गर्ने काममा परिवर्तन ल्याउने देखाएको छ।
यूनिभर्सिटी अफ एक्सटरद्वारा गरिएको अध्ययनले केही ब्याक्टेरियाहरू राम्रो स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतासँग सम्बन्धित रहेको पत्ता लगाएको छ भने केही ब्याक्टेरियाहरू कमजोर मस्तिष्क स्वास्थ्य र एल्जाइमर्स रोगसँग जोडिएको पाइयो।
यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. जोआना लुअरेएका अनुसार मुखमा रहेका ब्याक्टेरियाहरूको विश्लेषण गरेर नै भविष्यमा मानिसको मस्तिष्क स्वास्थ्यबारे पूर्वानुमान गर्न सकिने सम्भावना छ। उनले भनिन्, तपाईंको शरीरमा एल्जाइमर्सको जीन छ कि छैन भनेर डाक्टरकहाँ जँचाउन जानुभन्दा अगाडि नै हामी त्यसको अनुमान लगाउन सक्नेछौं।
मुखमा पाइने ब्याक्टेरिया र मस्तिष्क स्वास्थ्यको सम्बन्ध
अनुसन्धानकर्ताहरूका अनुसार नाइट्रेट धेरै भएका हरियो सागपात जस्तै पालुङ्गो, चुकन्दर, सलाद८८ जस्ता खानाले मुखमा पाइने केही ब्याक्टेरियाहरूको वृद्धि गर्न सक्छ, जसले मस्तिष्क स्वास्थ्यलाई सकारात्मक रूपमा प्रभावित गर्ने सम्भावना छ। यसै विषयमा थप अनुसन्धान भइरहेको र प्रारम्भिक चरणमै रहेको प्राध्यापक याना कर्बेटले जानकारी दिइन्।
उनका अनुसार, यदि केही ब्याक्टेरियाले मस्तिष्कको कार्यक्षमता सुधार गर्छन् भने, मुखमा हुने ब्याक्टेरियाहरूको सन्तुलन मिलाएर डिमेन्शिया जस्ता समस्या रोक्न सकिन्छ।
अध्ययन कसरी गरिएको थियो ?
यस अनुसन्धानमा ५० वर्ष उमेर नाघेका ११५ जना स्वयंसेवीहरू सहभागी थिए। उनीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो – पहिलो समूहमा मस्तिष्कको कार्यक्षमतामा कुनै समस्या नदेखिएका व्यक्तिहरू थिए भने दोस्रो समूहमा हल्का स्मरण शक्ति कमजोर भएका व्यक्तिहरू समावेश थिए।
अनुसन्धानकर्ताहरूले सहभागीहरूबाट मुख सफा गरेको पानीको नमुना संकलन गरेर तिनमा रहेका ब्याक्टेरियाहरूको अध्ययन गरे।
मुख्य निष्कर्षहरू
नाइसेरिया र हिमोफिलस समूहका ब्याक्टेरिया धेरै भएका मानिसहरूको स्मरण शक्ति राम्रो रहेको, ध्यान केन्द्रित गर्न सक्ने क्षमता उच्च रहेको तथा जटिल कार्य गर्न सक्ने क्षमता रहेको पाइयो।
पोर्फाइरोमोनास नामक ब्याक्टेरिया धेरै भएका व्यक्तिहरूमा भने स्मरण शक्ति कमजोर हुने सम्भावना देखियो।
प्रेभोटेला समूहका ब्याक्टेरियाहरू कम नाइट्रेट भएका व्यक्तिहरूमा पाइएका थिए, जसले एल्जाइमर्स रोगको जोखिम बढाउने संकेत गरेको छ।
स्वास्थ्य सुधारका लागि सुझाव
डा. जोआना लुअरेएका अनुसार नाइट्रेटयुक्त हरियो सागपात जस्तै पालुङ्गो, चुकन्दर, सलाद खानु र मदिरा तथा धेरै चिनी भएका प्रशोधित खानेकुरा कम गर्नु राम्रो हुन्छ।
प्राध्यापक आनी भानहाटालोका अनुसार भविष्यमा मुख सफा गरेपछि लिइने पानीको नमुना प्रयोग गरी व्यक्तिको मस्तिष्क स्वास्थ्यबारे प्रारम्भिक अनुमान लगाउन सकिने सम्भावना छ।
मुखमा पाइने केही ब्याक्टेरियाहरू मस्तिष्क स्वास्थ्यका लागि लाभदायक देखिए भने केही ब्याक्टेरियाहरू एल्जाइमर्स जस्ता रोगसँग सम्बन्धित देखिएका छन्। खानपान, मुखको सरसफाइ, प्रोबायोटिक्सको प्रयोग जस्ता उपाय अपनाएर भविष्यमा डिमेन्शियाबाट जोगिने उपाय खोज्न सकिने सम्भावना अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन्।



