No Image Headlineस्वास्थ्य/जिवनशैली

बढ्दै वायु प्रदूषण : जोगिन के गर्ने, के नगर्ने ?

नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता वायु प्रदूषण बढ्दै गएको देखिएको छ। वातावरणविद् र चिकित्सकहरूले यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

वातावरण विभागका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण वर्षा नभएसम्म वा ठूलो हुरी नचलेसम्म घट्ने सम्भावना कम छ। मौसमविद्हरूका अनुसार तत्काल ठूलो पानी पार्ने प्रणाली विकसित हुने सम्भावना न्यून देखिएको छ।

वातावरण विभागका अनुसार हाल वायुप्रदूषण बढ्नुमा हिउँदमा पानी नपर्नु मुख्य कारण हो। साथै, डढेलो लाग्ने समय परेकाले पनि प्रदूषण उच्च देखिएको छ। विभागका सूचना अधिकारी दीपक ज्ञवालीका अनुसार दक्षिणतिरबाट पनि प्रदूषित वायु नेपाल प्रवेश गरिरहेको छ।

वायुप्रदूषणका मुख्य स्रोतहरूमा उद्योग, कलकारखाना, सवारी साधनको धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर जलाउने चलन, घरायसी धूवाँ, तथा सडक तथा निर्माण कार्यबाट उड्ने धुलो रहेका छन्।

कस्तो छ अवस्था ?

वायु गुणस्तर निगरानी प्रणालीअनुसार आइतबार धनगढीको हावा सबैभन्दा खराब रहेको देखिएको छ। त्यसपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि उच्च प्रदूषण देखिएको छ। एक दर्जनभन्दा बढी निगरानी स्टेशनहरूले वायुको अवस्था अस्वस्थकर रहेको देखाएका छन्।

विश्व वायु गुणस्तर सूचकांकअनुसार काठमाडौं उपत्यका पछिल्ला वर्षहरूमा विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा पर्न थालेको छ। सूचक १०० भन्दा माथि पुगेमा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ भने १५० माथि पुगेमा सबैका लागि अस्वस्थकर हुन्छ। २०० माथिको सूचक निकै अस्वस्थकर र ३०० भन्दा माथिको अवस्था खतरनाक मानिन्छ।

स्वास्थ्यमा पर्ने असर र सुरक्षाका उपाय

चिकित्सकहरूका अनुसार वायुप्रदूषणका कारण दम, खोकी, छाती, घाँटी, फोक्सो र नाकका समस्या देखिन सक्छन्। साथै, आँखा र छालासम्बन्धी समस्याहरू निम्तिन सक्छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका बिरामी तथा गर्भवती महिलाहरूलाई बढी असर पर्ने बताइएको छ।

विशेषज्ञहरूले बिहान र साँझ घरबाहिर ननिस्कन, मास्क लगाउन, पर्याप्त पानी पिउन, घरभित्र शुद्ध हावा प्रवाह गर्न तथा सकेसम्म प्रदूषणयुक्त क्षेत्रबाट टाढा रहन सल्लाह दिएका छन्। वातावरणविद्‌हरूका अनुसार अहिलेको प्रदूषण हट्न वर्षा आवश्यक पर्ने भएकाले तत्काल सुधारको सम्भावना कम देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button