वीरगञ्जमा सशस्त्र प्रहरीले ६ महिनामा समात्यो २१ करोडभन्दा बढी मूल्यका तस्करीका सामान
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा सशस्त्र प्रहरीले तस्करीको आशंकामा २१ करोड २८ लाख २६ हजार रुपैयाँ मूल्यबराबरका विभिन्न मालसामान बरामद गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाएको छ।
सशस्त्र प्रहरी १३ नं गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार यो अवधिमा वीरगञ्ज र पर्साको ग्रामीण क्षेत्रबाट भन्सार छली गरी ल्याइएका सामग्री नियन्त्रणमा लिइएको हो।
धामीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १६ करोड ६७ लाख ४१ हजार रुपैयाँ बराबरका सामान वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ। यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ४ गुणा हो । अघिल्लो वर्षको पुससम्ममा ४ करोड ८६ लाख ६० हजार रुपैयाँ मूल्यबराबरका मालसामान मात्रै नियन्त्रणमा लिइएको थियो ।
यो वर्ष पुससम्ममा ४ करोड ६० लाख ८५ हजार रुपैयाँ मूल्यबराबरका सामान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ।
सशस्त्र प्रहरीका अनुसार भारतसँगको खुला सिमानाबाट भन्सार छल्ने उद्देश्यले ल्याइएका कपडा, भाँडाकुँडा, विद्युतीय सामग्री, मसला तथा अन्य विभिन्न वस्तुहरू बरामद गरिएको छ।
सशस्त्र प्रहरीले तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन सीमाक्षेत्रमा निगरानी अझ कडा पारिएको बताएको छ।



