तराईमा बाक्लो हुस्सु र शीतलहर : यस्तो छ दिउँसो र रातिको मौसम पूर्वानुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसका कारण केही क्षेत्रहरूमा शीतलहर चलिरहेको छ।
दिउँसो र रातिको मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान गरिएको छ।
कर्णालीका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
सतर्कता अपनाउन आग्रह
तराई तथा उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



