नेपालमा शीतलहर र डढेलोको जोखिम, हिउँदमा कति वर्षा होला ?

नेपालका समथर भूभागमा केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरका कारण चिसो बढेको छ भने पहाडी क्षेत्रमा मौसम सफा देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएका कारण काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा मौसम सफा रहँदा माघ महिनामै कतिपयलाई गर्मी महसुस भइरहेको छ। विभागका मौसमविद् गोविन्द झाका अनुसार यो अवस्था केही समयका लागि रहन सक्छ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो बाक्लो रहेकाले बिहान र बेलुकी चिसो बढेको छ। मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराईमा मन्द शीतलहर चलेको छ।
डढेलोको जोखिममा वृद्धि
पहाडी क्षेत्रमा मौसम सफा भए पनि सुक्खा बढेकाले डढेलोका घटना बढ्न सक्ने चेतावनी दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानमा डढेलो सुरु भइसकेको छ। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र बेथानचोक गाउँपालिकाको वन क्षेत्रमा डढेलो लागेको उल्लेख गर्दै प्राधिकरणले यसलाई नियन्त्रण गर्न प्रयास भइरहेको बताएको छ।
प्राधिकरणले वनमा डढेलो लाग्न नदिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, स्थानीय तह र सरकारी निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
हिउँदे खडेरी र न्यून वर्षा
मौसमविद्हरूका अनुसार यसपालि हिउँदे मौसममा अत्यन्तै कम पानी परेको छ। विभागका तथ्यांकअनुसार यस वर्षको हिउँदमा सरदरको मात्र ९ प्रतिशत मात्र वर्षा भएको छ। गत वर्ष पनि हिउँदमा सरदरको चौथाइ मात्र पानी परेको थियो।
नेपालमा हिउँदको तीन महिनामा औसत ६० मिलिमिटर पानी पर्ने भए पनि पछिल्ला वर्षहरूमा सुक्खा हिउँदको अवस्था देखिएको छ। यसले डढेलोको जोखिम थप बढाएको मौसमविद्हरूले बताएका छन्।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार माघ १३ गतेसम्म चिसो र हुस्सुको अवस्था यथावत् रहने अनुमान गरिएको छ। उनले विशेष गरी शीतलहर प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकी छन्।
विभागले हिउँदे खडेरी र डढेलोका घटनालाई मध्यनजर गर्दै चिसोबाट बच्न र आगलागी नियन्त्रणका लागि सतर्क रहन सबैलाई अनुरोध गरेको छ।
नेपालमा हिउँदे खडेरी र डढेलोको सम्भावना बढ्दै जाँदा प्राधिकरण र स्थानीय तहले आवश्यक तयारी गर्न ध्यान दिनुपर्ने देखिन्छ।



