
रूपन्देही जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। लगातार तेस्रो दिन अदालतमा थुनछेक बहस जारी रहेकोमा प्रतिवादी पक्षको बहस नसकिएकाले आइतबार पुनः बहस हुने भएको छ।
अदालतको निर्णय
अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार, “प्रतिवादीका तर्फबाट बहस नसकिएकाले आइतबार पुनः बहस हुनेछ। अदालतको हाजिरी जमानीमा रिहा गर्ने अघिल्लो आदेश कायम छ।”
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेविरुद्ध बुधबारदेखि बयान जारी छ। बिहीबार सरकारी वकिल र जाहेरवालाका वकिलहरूले थुनछेक बहस गरेका थिए भने शुक्रबार प्रतिवादीका वकिलहरूले आफ्नो पक्ष प्रस्तुत गरेका छन्।
चितवन र पर्साको अनुसन्धान
लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। यसअघि सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
चितवन र पर्सामा समेत लामिछानेविरुद्धको अनुसन्धान जारी छ। जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आगामी साताभित्र मुद्दा दर्ता गरिने बताएको छ भने पर्साको मुद्दामा अनुसन्धान जारी रहेको छ।
अघिल्ला मुद्दाहरू
यसअघि काठमाडौं र कास्की जिल्ला अदालतहरूले लामिछानेलाई सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहसपछि धरौटीमा रिहा गरेका थिए। काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ र कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेसहित ३९ जनाविरुद्ध अभियोग दर्ता गरिएको छ। सरकारी वकिलका अनुसार, करिब १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ सहकारी सदस्यहरूको बचत रकम ठगी गरिएको आरोप लागेको छ।
यस मामिलामा कास्कीमा जस्तो सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाही माग गरिएको छैन। रवि लामिछानेसहितका आरोपितमाथि विभिन्न सहकारी संस्थाका रकम अपचलन र ठगीसम्बन्धी मुद्दाहरूमा छानबिन जारी छ। रूपन्देहीमा आइतबार हुने बहसले थप निर्णय आउने अपेक्षा गरिएको छ।
कहिले के भयो?
- कात्तिक २: काठमाण्डूमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान
- कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति
- कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
- कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
- कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
- कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
- मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
- रवि लामिछानेविरुद्ध अरू जिल्लामा पनि अनुसन्धान जारी छ
- मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान
- मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान
- मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
- मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो
- मङ्सिर २५: पर्सामा बयान
- मङ्सिर २६: पर्साबाट काठमाण्डू हुँदै पोखरा लगियो
- मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप
- पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस
- पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप
- पुस ७: कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
- पुस २१: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डू जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता
- पुस २५ः कास्की जिल्ला अदालतको निर्णयपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा
- पुस २८ः काठमाण्डू जिल्ला अदालतमा उपस्थित, पुनः हिरासतमा
- माघ २ः काठमाण्डू जिल्ला अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश
- माघ ६: रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
- माघ ९ः रूपन्देही जिल्ला अदालतद्वारा हाजिरी जमानीमा छाड्न आदेश



