६५० किलोमिटरको रेन्ज दिने बिजुली कार नेपाली बजारमा, मूल्य कति ?
सीजी मोटर्सले नेपाली बजारमा आयन भी ईभी सार्वजनिक गर्यो

सीजी मोटर्सले नेपाली बजारमा जीएसी ब्रान्डको आयन भी मोडेल सार्वजनिक गरेको छ। एक विशेष कार्यक्रम आयोजना गरी यो अत्याधुनिक इलेक्ट्रिक भेइकल (ईभी) सार्वजनिक गरिएको हो।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणकुमार चौधरीले आयन वाई भेरियन्टको सफलताबाट प्रेरित हुँदै आयन भी सार्वजनिक गरिएको बताए। उनले यो नयाँ मोडेलले नेपालको ईभी बजारलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
आयन भीको सार्वजनिक कार्यक्रममा आयनका एसियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङ पनि उपस्थित थिए।
चीनमा गुणस्तरको हिसाबले नम्बर एक ईभी ब्रान्डको पहिचान बनाएको आयनले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र वातावरणमैत्री डिजाइनका कारण विश्वभर चर्चा पाएको छ।
दुई भेरियन्टमा उपलब्ध
आयन भी दुई भेरियन्टमा उपलब्ध छ।
- एलिट भेरियन्ट: ६२.७ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमता, ५२० किलोमिटर रेन्ज
- लक्जरी भेरियन्ट: ७५.३ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमता, ६५० किलोमिटर रेन्ज
लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजजस्ता विशेष सुविधाहरू छन्। दुवै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ-स्टार सुरक्षा मापदण्ड रहेका छन्।
मूल्य र उपलब्धता
कम्पनीले एलिट भेरियन्टको मूल्य ६४ लाख ९९ हजार र लक्जरी भेरियन्टको मूल्य ६९ लाख ९९ हजार तोकेको छ। ग्राहकहरूले थापाथलीस्थित शोरुममा गएर थप जानकारी लिन र टेस्ट ड्राइभ गर्न सक्नेछन्।
ग्राहक सेवामा नयाँ प्रविधि
ग्राहक अनुभवलाई सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ। यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी र चार्जिङ स्टेसनको विवरण प्राप्त गर्न सकिनेछ।
सीजी मोटर्सले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ।



