वीरगन्जमा इकोनोमिक रिपोर्टर्स एशोसिएसनको तदर्थ समिति गठन

वीरगन्जका आर्थिक पत्रकारहरुले इकोनोमिक रिपोर्टर्स एशोसिएसन (इरा) को तदर्थ समिति गठन गरेका छन्। नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजित भेलाले यसअघि ओमप्रकाश खनालको संयोजकत्वमा रहेको इरालाई संस्थागत गर्ने उद्देश्यसहित नयाँ तदर्थ समिति गठन गरेको हो।
कान्तिपुर दैनिकका उपसम्पादक शंकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा जनकपुर टुडे दैनिकका अनिल तिवारी र नागरिक दैनिककी विमला गुप्ता चयन भएका छन्। सचिवमा कारोबार राष्ट्रिय आर्थिक दैनिकका निरज पिठाकोटे, सहसचिवमा बीबीसी नेपाली सेवाकी माधुरी महतो र कोषाध्यक्षमा मध्य नेपाल सन्देश साप्ताहिककी कविता खड्का रहेका छन्।
त्यस्तै, सदस्यहरुमा अन्नपूर्ण पोस्ट दैनिकका क्रान्ति साह, इसनेशा अनलाइनका सुरेश विडारी, सीधाकुरा डटकमका जियालाल साह, बिजमाण्डु र प्रतीक दैनिकका राधेश्याम पटेल र भोजपुरी टाईम्स दैनिकका अजय चौरसिया छन्। यसअघि संयोजक रहेका ओमप्रकाश खनालले नवनिर्वाचित अध्यक्ष शंकर आचार्यलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्।
तीन महिनाभित्र विधान र दर्ता प्रक्रिया
तदर्थ समितिले तीन महिनाभित्र संस्थाको विधान मस्यौदा तयार गरी दर्ता प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ। यसैगरी, भेलाले महासंघका अध्यक्षमा निर्वाचित भएका पूर्व संयोजक ओमप्रकाश खनाल र अन्य पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।
तदर्थ समितिले निवर्तमान संयोजक ओमप्रकाश खनाल र पूर्व संयोजक रितेश त्रिपाठीलाई सल्लाहकारमा मनोनयन गरेको छ।



