उत्तरी चीन र भारतमा पुष्टि भएको एचएमपीभी संक्रमण के हो, नेपालमा सतर्कता कस्तो ?

उत्तरी चीनमा हालै ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) संक्रमण तीव्र गतिमा फैलिन थालेपछि चिन्ता बढेको छ। विशेषगरी १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामा यो संक्रमणको प्रकोप देखिएको छ।
चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छैन भन्ने दाबी भए पनि सामाजिक सञ्जालमा मास्क लगाएका मानिसहरूको भिड तथा अस्पतालका तस्बिरहरू भाइरल भइरहेका छन्।
एचएमपीभी के हो?
एचएमपीभी पहिलो पटक सन् २००१ मा पहिचान गरिएको भाइरस हो, यद्यपि यो दशकौँ अघिदेखि अस्तित्वमा रहेको विज्ञहरूले बताएका छन्। यसले मुख्यतः रुघाखोकी, ज्वरो, नाक जाम हुने, तथा छिटोछिटो सास फुल्ने लक्षण देखाउँछ।
यस भाइरसले ब्रोङ्काइटिस, निमोनियालगायत श्वासनलीमा समस्या निम्त्याउने सम्भावना रहन्छ। यो विशेषगरी कमजोर रोगप्रतिरोधी क्षमता भएका, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूमा गम्भीर बन्न सक्छ।
एचएमपीभी संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा सर्ने गर्छ। साथै संक्रमित व्यक्तिलाई छोएर वा तिनले छोएका सतहमा छोइ त्यसपछि हात मुख, नाक वा आँखामा लगाउँदा पनि यो सर्ने सम्भावना रहन्छ।
चीनमा स्थिति र तयारी
चीनका सङ्क्रामक रोगसम्बन्धी सीडीसीका प्रमुख कान बिआओका अनुसार श्वासप्रश्वाससम्बन्धी संक्रमणहरू यस हिउँद र वसन्तमा सामान्यभन्दा बढी देखिन सक्ने सम्भावना छ। हाल एचएमपीभीसँगै रेस्पिरेटरी सिन्सिशल भाइरस (आरएसभी), कोभिड, र इन्फ्लुएन्जाका बिरामीहरू पनि देखिएका छन्।
तर, यो वर्ष श्वासप्रश्वाससम्बन्धी समग्र बिरामीको सङ्ख्या २०२४ को तुलनामा कम रहने अनुमान गरिएको छ। भारतमा पनि एचएमपीभी संक्रमण पुष्टि गरिएको छ। यस भाइरसको प्रकोप चिसो मौसममा बढी हुने भएकाले हिउँदको अन्त्य र वसन्तको सुरुवातमा विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्।
हालको स्थिति कोभिड महामारीको सुरुवाती चरणसँग तुलना गर्न सकिए पनि स्वास्थ्य प्रणाली र जनचेतनाको उच्चस्तरीय तयारीले सम्भावित जोखिमलाई कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।



