खबर फटाफटदेश

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखापरेको छ। यसले पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिम तराईका केही स्थानमा आज विहान कुहिरो लागेको थियो।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने अपेक्षा गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायम छ।

आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने विभागले जनाएको छ। यसै कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button