नेपाल पत्रकार महासंघ र वीरगञ्ज कलेजबीच सातबुँदे समझदारी, अब पर्साका पत्रकारले ५ हजारमा पत्रकारिता पढ्न पाउने

नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच पर्सा जिल्लाको शैक्षिक, सामाजिक, र अर्थराजनीतिक क्षेत्रको प्रवद्र्धनका लागि सातबुँदे समझदारी भएको छ।
समझदारी अनुसार, दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक सुधारका लागि बहस र अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछन्। यससँगै, पत्रकारिता क्षेत्रको प्रवद्र्धन र कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गरिनेछ।
समझदारीमा वीरगञ्ज कलेजले पत्रकारिता अध्ययनका लागि पत्रकार महासंघका सदस्य तथा सञ्चारकर्मीलाई वार्षिक पाँच हजार रुपैयाँ शुल्कमा कक्षा ११ र १२ अध्ययन गराउने व्यवस्था गर्ने उल्लेख छ। तर, विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डद्वारा तोकिएका रजिष्ट्रेशन, परीक्षा, र प्रमाणपत्र शुल्क भने स्वयं वहन गर्नुपर्नेछ।
दुवै पक्षले स्थानीय सरोकारका अन्य सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकता दिने र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। समझदारीको अवधि चालु शैक्षिक सत्रसहित तीन शैक्षिक सत्र रहनेछ, जसलाई आवश्यकताअनुसार थप्न सकिनेछ।
समझदारी पत्रमा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले हस्ताक्षर गरेका छन्।
यो सहकार्यले जिल्लाको पत्रकारिता र शैक्षिक क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।




