No Image Headlineअर्थ

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात परीक्षणसँगै ढुवानी व्यवसायीको आन्दोलन किन ?

भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म सबै खालका पेट्रोलियम पदार्थ ढुवानीका लागि पाइपलाइन परीक्षण सुरू भएको छ। यो परीक्षणसँगै अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले शनिबारदेखि आन्दोलन सुरू गरेका छन्।

ढुवानी व्यवसायी सङ्घले लामो समयदेखि बरौनीदेखि अमलेखगंजसम्म ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको थियो। तर, सन् २०२५ को जनवरी १ बाट पाइपलाइनबाटै नियमित रूपमा ढुवानी गरिने तयारी हुँदा १०४ वटा ट्याङ्कर विस्थापित हुने भन्दै सङ्घले आफ्नो असन्तुष्टि व्यक्त गरेको छ।

शनिबार अमलेखगंज डिपो अगाडि आयोजित पत्रकार सम्मेलनमा सङ्घले पाइपलाइनबाट आपूर्ति गर्दा विस्थापित हुने ट्याङ्करहरूको विषयमा विचार गर्न माग गरेको थियो। सङ्घले आजदेखि सुरू गरेको आन्दोलन वार्तापछि पुस २४ गते सहमति गर्ने गरी स्थगन गरिएको छ।

परीक्षण सफल

नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार, पाइपलाइन परीक्षण सफल भएको छ। परीक्षणका क्रममा हालसम्म पाँच हजार पाँच सय केएल पेट्रोल र एक हजार केएल मट्टीतेल आयात गरिएको छ।

हाललाई परीक्षण मात्र भए पनि आवश्यक तयारीपछि पाइपलाइनमार्फत नियमित आपूर्ति गरिने प्रमुख आचार्यले जानकारी दिए।

पाइपलाइन परियोजनाका उपलब्धि

भारतीय आयल निगमले परियोजना अन्तर्गत अमलेखगंजस्थित डिपोमा विभिन्न पूर्वाधार निर्माण गरिसकेको छ। तीमध्ये चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्की, २५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्की, २४ वटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस, र प्रयोगशाला छन्।

यसबाहेक, फायर फाइटिङ सिस्टम, तेल र पानी छुट्याउने ओडब्ल्युएस सिस्टम, र पिएमसिसी कक्षको निर्माण पनि सम्पन्न भएको छ।

पहिलो चरणको काम सम्पन्न

परियोजनाको पहिलो चरण अन्तर्गत सन् २०१९ को सेप्टेम्बरदेखि पाइपलाइनमार्फत डिजेल आयात थालिएको थियो। दोस्रो चरणमा पेट्रोल र मट्टीतेलको आयात पाइपलाइनबाटै गरिनेछ।

नेपाल आयल निगमले सन् २०२३ भित्र सबै पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि विभिन्न कारणले केही ढिलाइ भएको थियो। अहिले भने पाइपलाइन विस्तार र अन्य निर्माण कार्य पूरा भएको निगमका प्रमुख आचार्यले जानकारी दिए।

यस परियोजनाले भारत र नेपालबीचको पेट्रोलियम आपूर्तिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button