
पुस महिनाको सुरुदेखि पश्चिम नेपालमा सात वटा भूकम्प गइसकेका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यी भूकम्पहरूले विभिन्न स्थानमा धक्का महसुस गराएका छन्।
पछिल्लो पटक शुक्रबार राति ११:३७ बजे कालिकोटको लाली आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको छ।
केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसको भोलिपल्ट, पुस ३ गते, धामेनामै ४.१ म्याग्निच्यूडको अर्को भूकम्प भएको थियो।
यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको छ। पुस ६ गते बाजुरामा ५.२ म्याग्निच्यूडको र पुस ९ गते दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प भएको छ।
पुस ११ गते जाजरकोटको नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रले २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको ठूलो भूकम्प गएको र त्यसपछि पश्चिम नेपालमा पाँच परकम्प अनुभव गरिएको जानकारी दिएको छ।
पछिल्लो समय लगातार भूकम्प आउनुले यस क्षेत्रमा भूकम्पीय सक्रियता बढेको संकेत गरेको विज्ञहरूले बताएका छन्।



