मधेसमा पहिलोपटक सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य र दुर्घटना बीमा

मधेस प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमाको कार्यक्रम सुरू गरिएको छ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले बीमा सम्झौतामा हस्ताक्षर गरे। उक्त कार्यक्रम राष्ट्रिय बीमा कम्पनीको आयोजनामा सम्पन्न भएको हो।
प्रदेश सरकारअन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आमसञ्चार प्राधिकरणले मधेस प्रदेशमा सक्रिय पत्रकारहरूको लागि निःशुल्क रूपमा रू. १ लाखको स्वास्थ्य बीमा र रू. ७ लाखको दुर्घटना बीमा उपलब्ध गराउन थालिएको छ।
कार्यक्रममा मन्त्री लेखीले मधेस प्रदेश सरकारलाई सञ्चारमैत्री सरकारका रूपमा परिभाषित गर्दै पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमाको सुरुवातले यसलाई प्रमाणित गरेको बताए। उनले पत्रकारहरूको समस्या बुझ्ने र समाधान गर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
त्यसैगरी, मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा वितरण गरिने र निकट भविष्यमा मधेस प्रदेशका सबै सहिद परिवारका सदस्यहरूको लागि पनि रू. १ लाखको स्वास्थ्य बीमा निःशुल्क रूपमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
जनता समाजवादी पार्टीका मधेस प्रदेश प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पत्रकारिताको सुरक्षाका लागि प्रदेश सरकारले चालेको यो कदमको प्रशंसा गरे।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा तीन वर्षदेखि सक्रिय रहेका ७३५ पत्रकारहरूको महासङ्घ र मिडियाको सिफारिसका आधारमा बीमा गरिएको बताए। उनले यसअघि महिलाको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको अनुभवलाई यो नयाँ प्रयासमा उपयोग गरिएको उल्लेख गरे।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले प्रदेश सरकारको यो बीमा नीति स्वागतयोग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिन आग्रह गरे।



