ज्ञानदा एकेडेमीमा खेलकुद सप्ताह, अर्थतन्त्रको मुख्य सरोकार बन्न सक्दछ खेल

वीरगञ्जको ज्ञानदा एकेडेमीमा १० औं वार्षिक खेलकुद सप्ताह शुरु भएको छ । बिहीबारदेखि सो खेल सप्ताह शुरु भएको हो ।
कार्यक्रम ज्ञानदा एकेडेमीका अध्यक्ष संदीप कुमार तुलस्थानको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत तरूण कुमार सिंह थिए । उनले शिक्षासँगै खेलकुदले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले खेलकुल शारिरीक तन्दुरुस्तीको विषयमात्र नभएर यो अर्थतनत्रको अभिन्न अंग रहेको बताए । उनले राज्यले अहिले खेल क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी पनि गरे ।
ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता खेलकुद कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोतीराम भट्टराई र सञ्चारकर्मी राम शर्राफ लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा दीप प्रज्ज्वलन, बेलुन उडाउने कार्यबाट सुरु भएको थियो। विद्यालयका छात्रछात्राले नेपाली सामूहिक स्वागत गीत, संस्कृत मङ्गल पाठ, ड्रिल, मार्चपास, र विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।



