बारा-पर्साका उद्योगी भन्छन् – ट्रिपिङ्ग अति भयो, बरु घोषित लोडशेडिङ गर

नेपाल विद्युत प्राधिकरणद्वारा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा जारी अघोषित लोडशेडिङ र विद्युत कटौतीले उद्योगहरूको उत्पादन दरमा गम्भीर असर परेको छ। उद्योगीहरूले पछिल्लो एक महिनादेखि विद्युत आपूर्तिमा आएको अनियमितताका कारण उत्पादन एक तिहाइमा झरेको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार, विद्युत प्राधिकरणले २०७४ सालमा घोषणा गरेको “लोडसेडिङमुक्त औद्योगिक क्षेत्र” को नारामा उत्साहित उद्योगी र व्यवसायीले पछिल्लो समयमा गुणस्तरीय विद्युत आपूर्तिको अभावले उपकरण र कच्चा पदार्थमा क्षति व्यहोर्नुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर भोग्नुपरेको छ।
प्रतिस्पर्धात्मक क्षमतामा गिरावट
उद्योगहरूले बढ्दो लोडशेडिङका कारण डिजेल जेनरेटर (डिजी सेट) प्रयोग गरेर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको छ। यसले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा गिरावट आएको छ। साना उद्योगहरूले डिजेल जेनरेटर सञ्चालन गर्न नसक्ने अवस्थामा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको संघको विज्ञप्तिमा उल्लेख गरिएको छ।
लगातारको ट्रिपिङ र क्षति
औद्योगिक फिडरमा दैनिक १४–१५ पटकसम्म ट्रिपिङ हुँदा औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थ पनि क्षति भएका घटना उल्लेखनीय रहेको उद्योगीहरूले बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले विद्युत कटौतीको समय निर्धारण गरी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्न आग्रह गरेको छ।
दीर्घकालीन समाधानको माग
संघका अनुसार, हिउँदको मौसममा प्रत्येक वर्ष विद्युत आपूर्तिमा समस्या देखिँदै आएको छ। यसले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ।
“उद्योगहरूबाट खपत भएको विद्युत महसुल प्राधिकरणले जसरी असुल्छ, त्यसरी नै गुणस्तरीय विद्युत उपलब्ध गराउनु पर्दछ,” संघले विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।उद्योगीहरूले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।



