नेपालमा पहिलो पटक एमपक्स पुष्टि : यो कस्तो रोग हो, कसरी सर्छ?

नेपालमा पहिलो पटक एमपक्स (मंकीपक्स) सङ्क्रमण पुष्टि भएको छ। साउदी अरबबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा यो रोग देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन्।
सङ्क्रमित पुरुषलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेशनमा राखी उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार बिरामीले साउदी अरबमै जननेन्द्रिय वरपर बिमिराहरू देखिएका थिए। उनले नेपाल फर्केर घर नगई सिधै अस्पताल गएका थिए।
शुक्रराज अस्पतालमा बिरामीको लक्षणका आधारमा नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरियो। शुक्रवार नमुनामा एमपक्स पुष्टि भएको हो।
कसरी सर्छ?
एमपक्स बिफर गराउने भाइरसको एक प्रजाति हो, जुन प्रायः उष्ण कटिबन्धीय अफ्रिकी देशहरूमा पाइन्छ। यो रोग जनावरबाट मानिसमा र मानिसबाट मानिसमा फैलिन्छ।
- सङ्क्रमित व्यक्तिको थुक, नाक, मुख वा खुला छालाको सम्पर्कबाट
- फुटेको छालाबाट वा श्वासनलीमार्फत
लक्षण
एमपक्सको मुख्य लक्षणमा ज्वरो, टाउको दुखाइ, सुन्निने, मांसपेशी दुखाइ, र ढाड दुखाइ समावेश छन्। ज्वरोपछि शरीरमा चिलाउने र दुख्ने बिमिरा देखापर्छ, जुन अनुहारबाट सुरु भएर अन्य भागमा फैलिन्छ।
एमपक्सको लागि बिफरको खोप र थेरपी उपयोगी मानिएको छ। हाल तीनवटा खोप विकास भएका छन्, तर जोखिममा रहेका वा सङ्क्रमितसँग सम्पर्कमा रहनुपर्ने व्यक्तिहरूमात्रलाई खोप सिफारिस गरिएको छ।
डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु, स्वास्थ्य मापदण्डको पालना गर्नु, र शारीरिक सुरक्षामा ध्यान दिनु महत्त्वपूर्ण छ।
स्वास्थ्य मन्त्रालयले थप सङ्क्रमण रोक्न निगरानी कडा पार्ने जनाएको छ। एमपक्सका विरुद्ध नेपालमा हाल कुनै खोप औपचारिक रूपमा उपलब्ध छैन। संक्रमणका लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।



