वैदेशिक रोजगारीका पीडा : १५ वर्षमा १४ हजारभन्दा बढी श्रमिकको मृत्यु

पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढी नेपाली श्रमिकको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म १४,२१३ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका हुन्।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो। डिसेम्बर १६ देखि २२ सम्म साताव्यापी रूपमा दिवस मनाइँदैछ। मन्त्रालयले सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विविध कार्यक्रम आयोजना गरेको छ।
गम्भीर बिरामी र अंगभंग श्रमिक
बोर्डका तथ्यांकअनुसार, यस अवधिमा गम्भीर बिरामी वा अंगभंग भई स्वदेश फर्किएका ३,४४० जना श्रमिकलाई आर्थिक सहायता प्रदान गरिएको छ। नेपालका नागरिक १११ मुलुकमा आप्रवासीका रूपमा कार्यरत रहेको पनि मन्त्रालयले जनाएको छ।
विश्वव्यापी आप्रवासी तथ्यांक
अन्तर्राष्ट्रिय आप्रवासन संगठनको २०२४ प्रतिवेदनअनुसार विश्वभर २८.१ करोड मानिस आप्रवासी रहेका छन्। तीमध्ये १६.९ करोड आप्रवासी श्रमिक हुन्। संयुक्त राष्ट्रसङ्घले आप्रवासी श्रमिक र तिनका परिवारको अधिकार संरक्षण गर्न १९९० मा महासन्धि पारित गरेको थियो, जुन २००३ देखि लागू भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। सात लाख ४१ हजार २९७ श्रमिकले वैदेशिक रोजगारीबाट पठाएको विप्रेषणले घरपरिवार सञ्चालन, गरिबी न्यूनीकरण र आर्थिक जोखिम घटाउन योगदान गरेको छ।
विश्व बैंकको रिपोर्टअनुसार, नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ। श्रम मन्त्रालयका अनुसार, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कानुनी परिमार्जन, निःशुल्क तालिम, श्रम सम्झौताको पुनरावलोकन, र नयाँ गन्तव्य मुलुकसँग सम्झौता गर्ने नीति समावेश गरिएको छ।
श्रम मन्त्रालयका उपसचिव वसन्त बोहराले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न आप्रवासी नीति परिमार्जन गर्ने प्रक्रिया चलिरहेको बताएका छन्। अर्का उपसचिव महेश पराजुलीका अनुसार ९८.९ प्रतिशत रेमिट्यान्स औपचारिक च्यानलमार्फत आएको छ।
स्थानीय तहको भूमिका
राहदानी, सीप तालिम, र अभिमुखीकरणलगायतका कागजात तयार गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, र अन्य निकायको महत्त्वपूर्ण भूमिका रहेको मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा मन्त्रालयले चेतना अभिवृद्धि, प्रोत्साहन कार्यक्रम, र आयआर्जनमा लगानी गर्न सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ।



