No Image Headlineखबर फटाफटदेश

हिरासतमा रहेका रवि लामिछानेको तस्बिर विवाद: हिरासतमा सीसीटिभीको निगरानी कति उचित ?

कास्की प्रहरी हिरासतमा रहेका भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको एक तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। हिरासतभित्र खिचिएको भनिएको उक्त तस्बिर कसरी बाहिर आयो भन्नेबारे प्रहरीमा छानबिन सुरु भएको छ।

प्रहरीका अनुसार, हिरासत कक्षमा रहेको सीसीटीभीबाट खिचिएको जस्तो देखिने तस्बिरको वास्तविकता पत्ता लगाउन समिति गठन गरिएको छ। कास्की प्रहरीका प्रवक्ता वसन्त शर्माको नेतृत्वमा यो अनुसन्धान अघि बढ्नेछ।

तस्बिर कसरी खिचियो?

निकोलस भुसाल नाम गरेका व्यक्तिले रवि लामिछानेलाई भेट्न गएको बेला उक्त तस्बिर खिचेको स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि आलोचना भएपछि हटाएको दाबी गरेका छन्।
“म शनिबार ४ बजे उहाँलाई भेट्न गएको थिएँ। फर्कंदा बाहिरको सीसीटीभी दृश्य देखिने स्क्रिनबाट फोटो खिचेको थिएँ,” भुसालले भने।

कास्की प्रहरीका प्रवक्ता वसन्त शर्माले भुसालको बयानलाई पुष्टि गरेका छन् तर तस्बिर खिच्ने समयमा उनी हिरासत क्षेत्रमा कसरी पुगे भन्ने प्रश्न उठेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले हिरासत कक्षमा निगरानीका लागि सीसीटीभी राखिएको स्वीकार गरेका छन्। उनले भने, “हिरासतमा निगरानीका लागि सीसीटीभी राखिएको हो। तर तस्बिर सार्वजनिक हुनु भने गोपनीयताको उल्लङ्घन हो।”

प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, हिरासत कक्षमा सीसीटीभी निगरानी आत्महत्या जस्ता घटना रोक्नका लागि राखिन्छ। तर उक्त निगरानीबाट खिचिएको तस्बिर बाहिरिनु अनुसन्धानकै विषय भएको अधिकारीले बताए।

गोपनीयता र मानव अधिकारको बहस

यस विषयलाई लिएर मानव अधिकारकर्मी र कानुनविद्हरूले हिरासतमा निगरानी उचित भए पनि तस्बिर सार्वजनिक हुनु थुनुवाको गोपनीयताको उल्लङ्घन भएको बताएका छन्।
वकिल गोविन्द बन्दी कोइरालाले भने, “निगरानीका लागि सीसीटीभी राख्न सकिन्छ। तर त्यहाँको दृश्य सार्वजनिक हुनु भने व्यक्तिगत अधिकारको उल्लङ्घन हो।”

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले प्रहरीकै मिलेमतोमा तस्बिर खिचिएको आशंका गरेका छन्। तर प्रहरी प्रवक्ता अधिकारीले प्रारम्भिक अनुसन्धानले तस्बिर भुसालले खिचेको देखाएको र सोधपुछ भइरहेको बताए।

प्रहरीले तस्बिर खिच्ने र सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि तस्बिर सार्वजनिक गर्ने विषयमा संलग्न प्रहरी अधिकारीमाथि सोधपुछ भइरहेको जानकारी दिए।

यो घटनाले हिरासतको गोपनीयता, निगरानी प्रणाली, र मानव अधिकारको विषयमा नयाँ बहस सुरु गराएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button