सिरिया कानूनी बाटोमा अघि बढेको विद्रोही नेताको दाबी
सिरियाका विद्रोही नेता अहमद अल साराले देशले लामो समयदेखि जारी युद्धको अन्त्य गरी अब कानुनी र शान्तिपूर्ण बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्। उनले अब युद्धको चक्रबाट बाहिर निस्केर नयाँ युगको शुरुवात गर्न आवश्यक रहेकोमा जोड दिए। पश्चिमा मुलुकहरू र छिमेकीहरूसँग सिरियाले शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको उनले स्पष्ट पारे।
उनले सिरियाको आगामी भूमिकाबाट कोही पनि सशंकित हुन नपर्ने भन्दै आफ्नो संगठनको उद्देश्य देशलाई स्थिरता र न्यायतर्फ डोर्याउनु रहेको बताए।
“सिरियामाथि पुरानो सत्ताको कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अब हटाइनुपर्छ,” उनले भने। दुई हप्ताअघि विद्रोही समूह हयात ताहिर अल साम ९एचटिएस० का नेता मोहम्मद अल जलाउनी, जो साराको नामले पनि परिचित छन्, ले बसार अल असदलाई सत्ताबाट हटाएका थिए। साराले आफ्नो संगठनलाई आतङ्ककारीको सूचीबाट हटाउन माग गरेका छन्।
एचटिएसलाई अमेरिका, बेलायत, संयुक्त राष्ट्र संघ, र युरोपेली युनियनले आतङ्ककारीको सूचीमा राखेका छन्। तर, सन् २०१६ मा अलकायदासँगको सम्बन्ध तोडिसकेका कारण यो सूचीबाट हटाइनुपर्ने उनको दाबी छ। उनले आफ्नो संगठनले कहिल्यै सर्वसाधारणमाथि आक्रमण नगरेको भन्दै यसको मुख्य उद्देश्य सिरियाली जनतालाई न्याय दिलाउनु रहेको जिकिर गरे।
साराले सिरियालाई अफगानिस्तानको मोडलमा लैजान नचाहेको प्रष्ट पारे। साथै, महिला शिक्षाको प्रवर्द्धन आवश्यक रहेको बताएका उनले इदलिबको विश्वविद्यालयमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी महिला रहेको दाबी गरे। उनले सिरियाको संविधान लेख्ने जिम्मा कानुनी विज्ञहरूलाई दिइनुपर्ने र सबै राजनीतिक नेतृत्वले यो संविधान पालना गर्न बाध्य हुने व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गरे।



