No Image Headlineअर्थ

निजीक्षेत्रको मनोबल नबढाई विकास र समृद्धि असम्भव : पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समृद्धिका लागि निजीक्षेत्रको निराशा हटाउन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले व्यापार व्यवसायमा लागेका समुदायको मनोबल वृद्धि गर्नुपर्नेमा जोड दिए।

महतले वित्तीय क्षेत्रका नियामक निकायहरू प्रभावकारी भएमा अर्थतन्त्रमा सकारात्मक लय आउने बताए। “वित्तीय नियमनमा कमजोरी हुँदा हालका समस्या उत्पन्न भएका छन्,” उनले भने। “बैंकले दिएको ऋणले प्रतिफल दिन नसक्दा समस्या गहिरिएको छ। बैंकबाट नयाँ कर्जा प्रवाह कम हुँदा लगानीमा नकारात्मक असर परिरहेको छ।”

बजेट व्यवस्थापनमा अनुशासन नहुँदा विकासका परियोजनामा प्रभाव देखिन नसकेको उल्लेख गर्दै उनले प्राथमिकता नतोकी गरिएको बजेट विनियोजनले वित्तीय अनुशासन बिगारेको धारणा राखे। “सीमित स्रोतलाई प्राथमिकताका आधारमा खर्च नगरेको अवस्था सुधार गर्नुपर्छ,” महतले भने।

उनले संघीय सरकारले ३ करोड रुपैयाँभन्दा कम बजेटका योजना नल्याउने निर्णय गरेको स्मरण गर्दै अहिले त्यसमा अनुशासन कायम नभएको आरोप लगाए। “सरकारी खर्चलाई प्रथाकिमतासहित व्यवस्थित गर्नुपर्छ। अर्थमन्त्रीले खर्चमा आर्थिक अनुशासन कायम गरे मात्रै बजेटको प्रभाव देखिन्छ,” महतको भनाइ थियो।

ऋण व्यवस्थापनबारे बोल्दै महतले अनावश्यक ऋण लिने प्रवृत्तिले अर्थतन्त्रमा समस्या ल्याएको बताए। “बीआरआईलगायत द्विपक्षीय ऋणमा बढी शर्त हुने भएकाले त्यस्ता ऋण लिने काम सोचविचार गरेर मात्रै गर्नुपर्छ। बहुपक्षीय निकायको ऋणसमेत प्रभावकारी रूपमा प्रयोग हुन सकेको छैन,” उनले भने।

वीरगञ्जको कृषि औजार कारखानाबारे उठेको प्रश्नमा महतले बन्द उद्योगहरू निजीक्षेत्रले नै सञ्चालन गर्नुपर्ने धारणा राखे। उनले जग्गा सरकारको अधीनमा राखी निजीक्षेत्रलाई सञ्चालनका लागि उपयुक्त मोडालिटी बनाइनुपर्ने बताए। तर, नियमसंगत अवस्थामा राज्यले सहयोग गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button