आजको मौसम : केही भूभागमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले जनाएको अनुसार, अहिले कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ भने अन्य भूभागमा आंशिकदेखि साधारणतया बदली रहन सक्नेछ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी र बागमती प्रदेशका केही क्षेत्रहरू तथा कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। विशेषगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू तथा गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा हिमपात हुने सम्भावना रहेको छ।
आज राति पनि कर्णालीसहित सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।
यस्तै, कर्णाली प्रदेशसहित अन्य पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र बागमती तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।



