No Image Headlineअन्तराष्ट्रिय

सिरियामा कसरी भयो आधा शताब्दीको पारिवारिक शासन अन्त्य ?

देश छाडेर भागेका सिरियाका राष्ट्रपति असद मस्कोको शरणमा, राजधानी दमासकसमा विद्रोहीको खुशीयाली

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद हाल मस्को पुगेका छन्। रुसी राष्ट्रिय सञ्चार माध्यमका अनुसार, उनलाई रुसले शरण दिने तयारी गरेको छ। एचटिएस (हायात ताहिर अल साम) नामक विद्रोही समूहले राजधानी दमासकस कब्जा गरेपछि असद देश छोड्न बाध्य भएका हुन्।

आइतबार, एचटिएसका नेता अबु मोहम्मद अल-जलवानी सार्वजनिक रूपमा उमायाद मस्जिदमा उपस्थित भए। ऐतिहासिक दमासकसको यस मस्जिदमा उनले कार्यक्रमलाई सम्बोधन गर्दै यो जितलाई इस्लाम राज्यको विजयको रूपमा घोषणा गरे। सम्बोधनका क्रममा उनले सन् २०११ यता सहिद भएका नागरिकहरूको सम्मानमा भावुक हुँदै, देशलाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो प्रतिज्ञा व्यक्त गरे।

उक्त मस्जिदमा कहिलेकाहीँ बसार अल-असद र उनका पिता हफिज अल-असदले पनि प्रार्थना गर्ने गर्थे। विद्रोही कब्जापछि, जलवानीले राजधानीको मुख्य स्थानहरूको भ्रमण पनि गरे। यसैबीच, छिमेकी मुलुकमा शरण लिएका कैयौं सिरियाली नागरिकहरू अहिले आफ्नो देश फर्किन थालेका छन्। विश्वभरि रहेका सिरियाली समुदायले यो परिवर्तनलाई खुसीयालीका रूपमा लिएका छन्।

बसार अल-असदको शासन अन्त्य अपेक्षाभन्दा तीव्र रूपमा भयो। २७ नोभेम्बरमा, एचटिएसले आक्रमण तीव्र पार्ने घोषणा गरेको थियो। सरकारी सेना उत्तरपश्चिमी क्षेत्रमा सर्वसाधारणलाई यातना दिइरहेको आरोप लगाउँदै सो घोषणा गरिएको थियो।

त्यसपछि, ३० नोभेम्बरमा विद्रोहीले एलेप्पो कब्जा गरेको, ५ डिसेम्बरमा हामा नियन्त्रणमा लिएको, र ६ डिसेम्बरमा डेरा प्रान्तमा उपस्थिति जनाउँदै राष्ट्रपतिको विरुद्ध विद्रोह सुरु भएको जानकारी गराए।

 

डिसेम्बर ७ मा, एचटिएसले होम्सलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गर्‍यो। अन्ततः, डिसेम्बर ८ मा, विद्रोही सेनाले राजधानी दमासकस कब्जा गरेर दुई घण्टाभित्र विजयोत्सव मनाइसकेको थियो।

आधा शताब्दीको पारिवारिक शासन अन्त्य

बशर अल-असद

दमासकसमा नियन्त्रण गुमाएसँगै बशर अल-असद र सिरियन बाथ पार्टीको करिब पाँच दशक लामो शासनको अन्त्य भएको छ।

सन् २००० मा आफ्ना पितालाई पछ्याउँदै सत्तामा आएका बशर अल-असदलाई सुरुमा सुधारवादी नेताका रूपमा हेरिएको थियो। तर सन् २०११ को ‘अरब स्प्रिङ’का क्रममा प्रदर्शनकारीहरूमाथि कठोर दमन गरेपछि उनको सुधारवादी छवि मेटियो।

सन् २०११ मा सुरु भएको अरब स्प्रिङले असदको शासनलाई त सुरुमा जोगायो, तर देशलाई गहिरो गृहयुद्धमा धकेल्यो। सुरुमा नागरिक समाजको नेतृत्वमा भएको विरोध पछि कट्टर इस्लामवादी समूहहरूको वर्चस्वमा पुग्यो।

असद शासन रासायनिक हतियारको प्रयोग र मानव अधिकार उल्लंघन जस्ता गम्भीर आरोपहरूसँग जोडिएको छ। उनले भने यो द्वन्द्वलाई सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साएको दाबी गर्ने गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button