भियतनाम : जहाँ युवतीहरू भाडामा ब्वायफ्रेन्ड लिन्छन् !

कार र स्कुटर भाडामा लिने कुरा सामान्य हो, तर के तपाईंले कहिल्यै ब्वायफ्रेन्ड भाडामा लिने प्रचलनबारे सोच्नुभएको छ? भियतनाममा यो असामान्य तर चाखलाग्दो चलन देखिएको छ, जहाँ महिलाहरू विभिन्न कारणले अस्थायी ब्वायफ्रेन्ड भाडामा लिने गरेका छन्।
किन लिन्छन् नक्कली ब्वायफ्रेन्ड?
भियतनाममा धेरै महिलाहरू आफ्नो परिवारको विवाह गर्ने दबाबबाट बच्न नक्कली ब्वायफ्रेन्डको सहारा लिन्छन्। विशेषगरी नयाँ वर्षजस्ता महत्त्वपूर्ण अवसरमा, परिवारलाई खुसी पार्न र बारम्बारको सोधपुछ टार्नका लागि उनीहरूले यस्तो पार्टनरलाई परिचय गराउने गरेका छन्।
कसरी काम गर्छ यो प्रक्रिया?
भाडाका ब्वायफ्रेन्डहरूले केवल साथीको भूमिका मात्र निभाउँदैनन्। उनीहरूले परिवारलाई प्रभाव पार्ने, सामाजिक जमघटमा सहभागी हुने, र कहिलेकाहीँ घरेलु काममा पनि सहयोग गर्ने जिम्मेवारी पूरा गर्छन्। जस्तै, मिन्ह थु नाम गरेकी ३० वर्षीया महिलाले सही जीवनसाथी भेट्न नसकेपछि परिवारलाई सन्तुष्ट पार्न यस्तो पार्टनर भाडामा लिएको बताइन्।
व्यवसायमा रूपान्तरण
यो प्रचलन अब व्यक्तिगत समाधानको सीमाभन्दा बाहिर गएर व्यवस्थित व्यवसायका रूपमा स्थापित हुँदैछ। भियतनामका केही पुरुषहरूले ‘फेक ब्वायफ्रेन्ड’का रूपमा पेशा सुरु गरेका छन्। हानोईका एक २५ वर्षीय युवाले सामाजिक कार्यक्रममा सहभागी भई महिलाहरूलाई पारिवारिक अपेक्षाहरू पूरा गर्न सहयोग गर्दै आएका छन्।
फेसन बन्दै फेक ब्वायफ्रेन्ड
यो चलन भियतनाममा सामाजिक फेसनका रूपमा विस्तार हुँदै गएको छ। मिडिया रिपोर्टअनुसार, भाडाका ब्वायफ्रेन्डहरूले महिलाहरूलाई पारिवारिक दबाबबाट मुक्त गराउनुका साथै उनीहरूको सामाजिक जीवनलाई सहज बनाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन्।



