केपी ओलीदेशमुख्य खबर

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किँदैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन गएका थिए।

प्रधानमन्त्री ओलीले बेइजिङमा रहँदा चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार यस भेटमा नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विभिन्न विषयमा गहन विचारविमर्श भएको छ।

भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न महत्वपूर्ण सम्झौताहरू भएका छन्। टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै व्यापार अभिवृद्धिसम्बन्धी सम्झौता पनि सम्पन्न भएको छ।

चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माण पूरा भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ भने भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा पनि सहमति भएको छ। यसबाहेक विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौताहरूमा समेत हस्ताक्षर भएको छ।

नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षक कार्यक्रमलाई पनि अघि बढाउने सहमति भएको छ।

भ्रमणका क्रममा ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार भइरहेको र ढुक्क भएर लगानी गर्न आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको यो सम्मेलनमा ओलीले विदेशी लगानी आकर्षित गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन पनि गरे। यस अवसरमा उनले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्, जसलाई सकारात्मक रूपमा लिइएको जनाइएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्चस्तरीय सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी रहेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button