No Image Headlineदेश

सहकारी ठगी प्रकरणमा अर्को पक्राउ पुर्जी, रवि लामिछानेलाई कहिले लगिँदैछ वीरगञ्ज ?

सानोपाइला सहकारीमा ३३ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी

पर्सा जिल्ला अदालतले सानोपाइला सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पूर्वडीआईजी छविलाल जोशी, फरार रहेका गितेन्द्रबाबु राई (जीबी) र रामबहादुर खनाललगायतलाई पनि पक्राउ पूर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले सहकारीको बचत रकम ठगीमा अनुसन्धान गर्न पक्राउ अनुमति मागेपछि अदालतले उक्त आदेश दिएको हो। पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पक्राउ पूर्जी जारी भएको पुष्टि गरे।

उक्त प्रकरणमा पर्साको सानोपाइला सहकारीमा ४३७ जनाले उजुरी दिएका छन्। उनीहरूको करिब ३३ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको आरोप लगाइएको छ। सहकारीका प्रमुख अभियुक्त जीबी राईले विभिन्न सहकारीमार्फत ठगी गरेको आरोप छ। काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारी पनि ठगी प्रकरणमा मुछिएका छन्।

लामिछानेलाई पोखराबाट चितवन लगेर दुई दिनदेखि बयान लिने काम भइरहेको छ। बयानका क्रममा बुधबार रविका समर्थकहरूले प्रदर्शन गरेपछि झडप भएको थियो। सो क्रममा ५० भन्दा बढी प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

मुख्य अभियुक्त जीबी राई फरार रहेको र मलेसियामा लुकेको आशंका गरिएको छ। अर्का अभियुक्त कुमार रम्तेल कास्की जेलमा रहेका छन्। लामिछाने र जोशीलाई चितवनपछि बयानका लागि पर्सा लगिने भएको छ।

यसअघि, सरकारी वकिलले काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ। अब पाँचौँ सहकारी प्रकरणको बयानका लागि उनीहरूलाई पर्सा लैजाने तयारी भइरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button