No Image Headlineदेश

नेपाल-चीन द्विपक्षीय समझदारी : केके छ १२ बुँदे सहमतिमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा आर्थिक, भौतिक, सांस्कृतिक सम्बन्धसहित द्विपक्षीय सहकार्यका विभिन्न महत्वपूर्ण विषयहरू समेटिएका छन्।

पारस्परिक हितका मुद्दामा गहिरो सहकार्य

वक्तव्यअनुसार, दुवै देशका नेताहरूले चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा गहिरो छलफल गर्ने र व्यापक सहमति गर्ने प्रतिवद्धता जनाएका छन्। चीनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने बताउँदै नेपाल सरकारको आर्थिक तथा सामाजिक विकास प्रयासको प्रशंसा गरेको छ।

एक चीन नीति र ताइवानबारे नेपालको समर्थन

नेपालले चीनको एक मात्र कानुनी सरकार जनवादी गणतन्त्र चीनलाई मान्यता दिएको र ताइवान चीनको अविभाज्य अंग रहेको भन्दै एक चीन नीति प्रतिप्रति प्रतिबद्धता दोहोर्‍याएको छ।

पूर्वाधार र कनेक्टिभिटीमा सहकार्य

दुवै पक्षले ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणका लागि सहकार्य गर्ने सहमति जनाएका छन्। अरनिको राजमार्ग, सिमिकोट सडक, र रसुवागढी राजमार्गको स्तरोन्नति तथा काठमाडौं चक्रपथ सुधार परियोजना अघि बढाउने सहमति भएको छ।

रेलवे र ऊर्जा क्षेत्रमा सहकार्य

जिलोङ–केरुङ–काठमाडौं क्रसबोर्डर रेल मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन र रेल्वे क्षेत्रमा पेशाकर्मी तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा सहमति भएको छ। जिलोङरकेरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर प्रसारण लाइन निर्माणलाई तीव्रता दिने निर्णय गरिएको छ।

व्यापार, उद्योग र कृषि क्षेत्रको प्रवर्द्धन

दुवै पक्षले व्यापारिक सहकार्यलाई थप सुदृढ गर्दै चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क निर्माणमा सहमति जनाएका छन्। नेपालले चिनियाँ बजारमा कृषिजन्य उत्पादनको निर्यात विस्तार गर्ने र नेपालमा चिनियाँ लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।

सांस्कृतिक र पर्यटन प्रवर्द्धन

नेपाल भ्रमण वर्ष २०२५ को प्रवर्द्धनमा चीनको सहयोगका साथै चीन–नेपाल चलचित्र महोत्सव आयोजना गर्न सहमति भएको छ। चीनले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न थप पर्यटक पठाउने प्रतिबद्धता जनाएको छ।

साइबर सुरक्षा र आपराधिक नियन्त्रणमा सहयोग

चीनले साइबर अपराध विरुद्धको लडाईंमा नेपाललाई तालिम, प्रहरी आपूर्ति र अन्य सहयोग उपलब्ध गराउने बताएको छ।

वक्तव्यले नेपाल र चीनबीचको घनिष्ठता अझ सुदृढ हुँदै गएको र आगामी दिनमा यी समझदारीहरूले दुई देशका जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button