प्रधानमन्त्री ओलीको चीन भ्रमण: कस्ता विकास परियोजनामा सम्झौता हुँदैछन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न महत्वपूर्ण विकास परियोजनामा सम्झौताहरू हुने भएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं रिङरोडको स्तरोन्नति, अरनिको हाइवे, हिल्सा–सिमिकोट, टोखा–खहरे टनेल मार्ग, जिलुङ–केरुङ–काठमाडौं क्रस बोर्डर रेलवे परियोजनाको अध्ययनलगायतका योजना समेटिएका छन्। यसैगरी, खाँदबारी–किमाथांका सडकमा अरुण नदीमाथि मितेरी पुल निर्माण, चोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब निर्माण र कोरला क्षेत्रमा औद्योगिक क्षेत्रको स्थापना पनि सम्झौतामा समावेश छ।
चीनद्वारा सहयोगको घोषणा
चीनले नेपाललाई २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर हुने भएको छ। साथै, चीनले नेपाललाई १०० वटा विद्युतीय गाडी, १०० प्रहरी भ्यान, ५० विद्यालय भ्यान र ५० एम्बुलेन्स प्रदान गर्नेछ।
सञ्चार र शिक्षा क्षेत्रमा सहकार्य
नेपाल टेलिभिजन, रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीचको समझदारीमा पनि हस्ताक्षर हुनेछ। त्यसैगरी, नेपालमा चिनियाँ भाषा विकास कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय गरिएको छ।
आगामी परियोजनाहरूको समझदारी
मन्त्रिपरिषद् बैठकले सन् २०२५ देखि २०२९ सम्मका लागि प्रस्तावित विकास परियोजनासम्बन्धी समझदारी पत्र स्वीकृत गर्दै हस्ताक्षरको लागि अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ।
प्रधानमन्त्री ओली सोमबार साँझ चीन प्रस्थान गर्नुभएको हो।



